प्रदीप भट्टराई
संसद्को बजेट अधिवेशन सुरू भएसँगै संसदमा सत्तापक्ष र प्रतिपक्षबीच मल्लयुद्ध सुरू भएको छ । मल्लयुद्ध अप्रत्यासित थिएन, पूर्वानुमानअनुसार नै थियो । सरकार कुनै पनि हालतमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन तयार नहुने, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय समिति नबनाई संसद नै चल्न नदिने । यस्तो स्थितिमा हुने भएको मल्लयुद्ध नै हो । तर, सुरूवातमै यो तहको मल्लयुद्ध होला भन्ने चाहिँ धेरैलाई लागेको थिएन ।
यो मल्लयुद्धसँगै संसद अवरूद्ध भएको छ । प्रमुख प्रतिपक्षले यसका लागि सरकार जिम्मेवार रहेको बताएको छ । संसदको सबैभन्दा ठूलो दलले प्रतिष्ठाको विषय बनाएर उठाएको यो मागलाई छलेर संसद अघि बढ्ने खवस्था छैन । बजारमा छरपष्ट प्रमाणहरूले रवि लामिछाने अरू संकटमा धकेलिएका छन् । उनी कुनै न कुनै रूपमा सहकारी प्रकरणमा चुकेको भन्ने सरकारका ठूला दलका मुखियाहरूलाई पनि थाहा छ । तर, उनीहरू सरकार टिकाउन र रविलाई अरू ड्यामेज गर्न सुनियोजित रूपमा लागेजस्तो देखिएको छ । यसले समस्या अरू पेचिलो बनेको छ ।
नेपालको संविधानमा वर्षे अधिवेशनकै क्रममा जेठ १५ गते बजेट प्रस्तुत गर्नै पर्ने बाध्यकारी व्यवस्था छ । यही बाध्यकारी व्यवस्थाले गर्दा सरकार वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकार बाध्य भएको थियो । त्यसो नहुँदो हो त सरकारले यसपटक संसद् अधिवेशन नै बोलाउने थिएन । केही समयअघि मात्र लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको मागले बढेपछि सरकारले रातारात संसद् अधिवेशनकै अन्त गरिदिएको थियो ।
२०६३ यता सरकार सँधै अप्ठ्यारोमै छ । कहिले संविधान नभएर अप्ठ्यारोमा छ त, कहिले संविधान भएर । कहिले संसदमा एकल बहुमत भएर अप्ठ्यारो छ त कहिले संसदमा बहुमत नभएर । कहिले पुरानाका कारण अप्ठ्यारोमा छ त कहिले नयाँका कारण । कहिले देशी शक्तिका कारण अप्ठ्यारोमा छ त कहिले विदेशी शक्तिका कारण ।
कारण जे जे भनिए पनि चुरो कुरो सरकारमा पुगेर राज्यदोहन गर्न केही ठूला नेतालाई आफूले भनेजस्तो नभएपछिको अप्ठ्यारो हो यो । देश बनाउनका लागि हैन, केही ठूला नेतालाई आफू, आफ्नो परिवार र दल बनाउन मरिहत्ते छ । सुशासन दिने ल्याकत छैन, नियत पनि सफा छैन – त्यसपछि पर्ने भनेकै अप्ठ्यारो हो ।
अहिलेको सरकार त साँच्चै नै अप्ठ्यारो स्थितिमा छ । संसदमा दलहरूको अंकगणित नै यस्तो छ कि जहाँ ठूला हैन, साना दलले भ्यागुताको धार्नी पु¥याउनु पर्छ । त्यो धार्नी पु¥याउने क्रममा अहिलेका प्रधानमन्त्री प्रचण्डले सबैखाले समीकरणको अभ्यास गरिसके । अहिलेको समीकरणभन्दा भिन्न किसिमले उनी सरकार नै बनाउन सक्दैनन् । तर, उनलाई जसरी भए पनि आफ्नो नेतृत्वमा सरकार बनाएर प्रधानमन्त्री हुनु छ । एक–दुई वर्ष हैन, पाँचै वर्ष नै प्रधानमन्त्री हुनुछ ।
अहिले रवि लामिछाने सरकारका लागि प्रेमपिण्ड भएका छन् । प्रमाणहरूले उनी सहकारी प्रकरणमा घाँटीसम्मै डुबेका छन् । गृहमन्त्रीको कमान्ड लिएर सारा प्रहरीलाई काबुमा राखेका छन् । अहिले प्रहरी प्रशासन रविको प्रमाण जुटाउन हैन, मेटाउन लागेको छ ।
उनलाई जोगाउन खोज्दा प्रहरीको साख त राख भएकै छ, सहकारी प्रकरण पनि अरू पेचिलो बनेको छ । देशभरका सयौँ सहकारीबाट अर्वौँ रूपैयाँ ठगेका सहकारी ठगहरू कोही विदेशतिर त कोही स्वदेशभित्रै लापत्ता छन् । सहकारी पीडितहरू सडकमा ओर्लेका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यो विषयलाई जोडतोडका साथ उठाइरहेको छ । ऊ रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने चट्टानी अडानमा छ । तर, लामिछाने संसदीय समिति बन्न नदिन साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिरहेका छन् । उनले संसदीय समिति बन्ने हो भने रास्वपा सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
ओली-दाहाल-लामिछाने ट्रोयंकाले सरकारमा टिकिरहने निन्जा टेक्निकको कास्टिङ देखाएको छ । यही कास्टिङअनुसारकै चलचित्र पनि देखाउन पाए भने देश फेरि अस्थिरताको घनचक्करतिर धकेल्नेछन् । यो घनचक्करले कसैलाई पनि मनोरञ्जन दिदैन, पीडा मात्र दिन्छ ।
अहिलेको समीकरणमा सरकार टिकाउने वैशाखी नै रविका २१ घण्टी हुन् । यी २१ घण्टीको रालो रविको हातमा छ । उनले रालो निकाल्ने बित्तिकै घण्टी त बज्दैनन् नै, प्रचण्ड सरकारलाई पनि चमर हल्लाउनुपर्ने हुन्छ । यो हिसाब किताब राम्ररी बुझेका लामिछानेले ओलीलाई आफ्नो विश्वासमा लिएका छन् । ओली–लामिछानेको भरमा प्रधानमन्त्री भएका प्रचण्ड त सत्ताको च्याँख दाउमा छन् । प्रधानमन्त्री हुन पाए, उनी जे गर्न पनि तयार छन् ।
अहिले त्यसैको पाइलट प्रोजेक्ट सत्तारूढ जनता समाजवादी पार्टीमा देखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकै बेला उनको दल नै ओली–दाहाल मिलेर दुई टुक्रा पारिदिएका छन् । अझ त्यसमा पनि १२ सांसद रहेको दलका सात सांसद नै उपेन्द्र यादवको विपक्षमा गएको दाबी गरिएको छ । यो दृश्यले सत्ता टिकाउन ओली–दाहाल जे गर्न पनि तयार छन् भन्ने प्रस्ट देखाउँछ ।
यो पाइलट प्रोजेक्टले निर्वाचन आयोगबाट पनि मान्यता पायो भने त्यसको असर माधव नेपालको नेकपा एकीकृत समाजवादी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा सिधै पर्नेछ । यसै पनि माधव नेपाल र उनको दल नेकपा एस ओलीको आँखाको कसिंगर नै रहँदै आएको छ ।
ओलीले उपेन्द्र यादवको जनता समाजवादी पार्टीमा खोलेको फायर नै मूलतः माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिन केन्द्रीत हो । ओलीको तारोमा रहेका नेपालको एसमा पनि एमालेसँग मिल्नुपर्छ भन्ने एउटा ठूलो पक्ष छ । ओली–दाहालको ट्रोयंकाले अध्यादेश ल्याएर पनि त्यो पक्षलाई पार्टी फुटाउन मार्गप्रशस्त गरिदिन सक्छ । यही रणनीति नागरिक उन्मुक्ति पार्टीमा पनि लागू हुन्छ ।
ओली–दाहालको दलहरू विभाजन गराएर गठबन्धन जोगाउने रणनीतिको सिधा प्रभाव अब सरकार र संसदमा देखिने छ । सम्भवतः सरकारबाट माधव नेपालको नेकपा एस र उपेन्द्र यादवको जनता समाजवादी पार्टी बाहिरिने छन् ।
त्यसको ठाउँमा अशोक राईको जसपा र रञ्जिता श्रेष्ठको नाउपा ठूलो भागसहित सरकारमा सहभागी हुनेछन् । यसो गर्दा सरकारसँग एमालेको ७९, माओवादीको ३२, रास्वपाको २१ र राई–जसपाको ७ गरी १३९ सांसद हुन्छन् । २७५ सदस्यीय संसदमा बहुमतका लागि १३६ भए पुग्छ । यसमा रञ्जिता–नाउपका केही थपिए बोनस हुन्छ ।
यो सङ्ख्यासँगै वर्तमान गठबन्धन केही समयको लागि जोगिने भएको छ । यो रणनीतिले रविले सरकारमा आफ्नो ‘महत्त्व’ अरू बढाएका छन् । अब त उनीबिना सरकार नै नबन्ने करारी परिस्थिति बनेको छ । अब ओलीले माधव नेपालमाथि प्रहार गर्न पाउने भएका छन् । अब उनी एक–एक गर्दै नेकपा एसका सांसदलाई निशाना बनाउने छन् । सके, सग्लै एमालेमा झार्ने नसके पूरै फुटाएर बर्बाद गर्ने उनको रणनीति हुने छ ।
यो रणनीतिमा मतियारका रूपमा प्रचण्ड नराम्ररी फसेका छन् । उनको काम त अब रविले समाएको बन्दूक काँधमा राख्न दिएर ओलीको गोली हान्न दिने मात्र हो ।
ओली र लामिछाने नेपाली राजनीतिका दुई चण्डाल चरित्र हुन् । नेपाललाई आजको दुरावस्थामा पुर्याउन ओली एक्लै पर्याप्त थिए, अब त्यसमा रवि पनि थपिएका छन् । दुवैको स्वार्थ मिलेको छ ।
रविलाई सरकारमा रहेर आफूलाई राहदानी र सहकारीबाट जोगाउनु छ, ओलीलाई माधव नेपालको नेकपा एसलाई सकेर आफू प्रधानमन्त्री पनि हुनु छ । प्रचण्डलाई जति सक्यो, त्यति लामो समय प्रधानमन्त्री हुनु छ । तर, केका लागि?, त्योचाहिँ उनलाई पनि थाहा छैन । प्रचण्ड यसरी ओली–लामिछानेको गोटी भएर जति दिन सरकारमा बस्छन्, त्यति नै पुनः मुसिक भवः यात्राको रफ्तारमा हुन्छन् ।
यस्तो स्थितिमा अब कांग्रेसले केही नयाँ गर्ला त ? यस प्रश्नको उत्तर खोज्न अहिलेको कांग्रेसको अवस्था बुझ्न जरुरी छ । त्यो के भने पार्टी सभापति देउवालाई यही कार्यकालमा फेरि एकपटक प्रधानमन्त्री हुनु छ । उनको यही लोभले कांग्रेस बन्धक बनेको छ ।
तर, ओली–दाहालको नयाँ रणनीतिअनुसार अब देउवा प्रधानमन्त्री हुने सम्भावना कमजोर भएको छ । त्यसका लागि एउटै बाँचेको सम्भावनाको खेल भनेको वर्तमान सरकारको नेतृत्व फेर्ने बेलामा हुनसक्छ ।
ओलीले सरकारको नेतृत्व फेर्न प्रचण्डलाई दबाब दिने बित्तिकै उनले काँग्रेससँगको दूरी घटाउँछन् । यही खेलमा प्रचण्ड चार वर्ष प्रधानमन्त्री हुने सर्तमा अन्तिम एक वर्ष देउवा प्रधानमन्त्री हुन पनि सक्छन् । तर, त्यस्तो परिस्थिति आयो भने ओलीले प्रचण्डलाई नै पाँच वर्ष प्रधानमन्त्री बनाएर देउवालाई रोक्न सक्छन् ।
यो नयाँ परिस्थितिमा अब देउवाले संसदीय दल र पार्टीबाट स्व–अवकाश लिए राम्रो हुन्छ । उनले डा. शेखर कोइरालालाई संसदीय दलको नेता र पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिए हुन्छ ।
यसो गर्दा उनीहरू दुवैको पालो पुग्छ र अर्को पटक नयाँहरूले पालो पाउँछन् । निर्धारित समयमै महाधिवेशन गरेर विश्वप्रकाश शर्मालाई पार्टी अध्यक्ष र गगन थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर कांग्रेस चुनावमा गयो भने उसका लागि सर्वोत्तम हित हुन सक्छ । त्यो नेपाल र नेपाली जनताका लागि पनि हितकर हुन्छ । कांग्रेसले त्यसो ग¥यो भने मात्र ऊ सान्दर्भिक हुन्छ, अन्यथा यसको इतिहास पनि दन्त्यकथा नै हुने हो ।
अहिलेका लागि भने अब कांग्रेसले नमुना प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । उसका लागि सहकारी मुद्दा यो सरकारलाई संसदमा घेर्न पर्याप्त छ । संसदमा उसले आफ्नो अडान कायम राख्दै सहकारी पीडितले उठाएको आन्दोलनलाई साथ दियो भने यही आन्दोलनले कांग्रेसको ८४ पार लाग्न सक्छ । ओली–दाहालको अहिलेको रणनीतिले उनीहरूलाई तत्कालका लागि फाइदा भए पनि यसबाट अन्ततः कांग्रेस लाभान्वित हुन सक्छ ।
त्यसका दुई आधार छन्, पहिलो त यो रणनीतिले वाम ध्रुवीकरणको सम्भावना लगभग सकिन्छ; दोस्रो रवि लामिछानेको मिसन ८४ पनि एक किसिमले उठ्नै नसक्ने गरी दुर्घटनामा पर्छ । रवि जति बढी सरकारमा बस्छन्, त्यति त्यति रास्वपा कोमामा जान्छ । त्यसबाट फाइदा हुने भनेको कांग्रेसलाई नै हो । तर, कांग्रेस फेरि पनि देउवा, शशांक, शेखर, पूर्णबहादुर, प्रकाशमान सिंहकै अनुहार लिएर जाने हो भने त्यो उसका लागि राजनीतिक आत्महत्या नै हुने हो । जनताले अब कांग्रेसको त्यो आकृति नै हेर्न चाहेका छैनन् ।
समग्रमा देश फेरि अर्को राजनीतिक अस्थिरताको घनचक्करमा फसेको छ । हिजो ओली एक्लैले देशलाई घनचक्करमा फसाएका थिए, अहिले त्यसका लागि ओली–दाहाल–लामिछाने ट्रोयंका नै लागेको छ । यो अरू निम्नस्तरको राजनीतिक निन्जा टेक्निक हो । यो क्निकले उनीहरूलाई केही समयका लागि सरकारको कुर्सीमा त टिकाउला तर लामो समयसम्म जनताको मनको कुर्सीमा राख्न सक्दैन ।
यो स्तम्भकार ओली–प्रवृत्ति देशका लागि सबैभन्दा ठूलो अभिशाप ठान्छ । अहिले यो प्रवृत्ति ओली–दाहाल–लामिछाने ट्रोयंका भएर अरू अभिषप्त भएको छ । यो प्रवृत्ति भनेको सरकारमा पुग्न जे कुकर्म पनि गर्ने र त्यहाँ पुगेर ती सबै कुकर्मको शोधभर्ना गर्ने ज्यानमारा प्रवृत्ति हो । यो प्रवृत्तिले न नेपाल समृद्ध हुन्छ, न नेपाली सुखी । यदि त्यस्तो हुन्थ्यो भने आज दिनहुँ हजारौँ युवाहरूले देश छोडिरहेको दारुण–दृश्य नै देखिने थिएन ।
हो, अहिले नेपालको क्षितिजमाथि कालो बादल मडारिइरहेको छ । तर, त्यो कालो बादलभित्र पनि चाँदीको घेरा छ । अहिले त्यो घेरामा उज्यालोको सम्भावना खोज्ने समय हो । आशा गरौँ, त्यो उज्यालो छिट्टै झुल्के घाम भएर उदाउने छ ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया