ओलीको सत्ता उन्मादले निम्तिएको जेनजी आन्दोलन र त्यसमा शहादत प्राप्त ७६ जना किशोरहरूको चिहानमाथि उभिएको आमनिर्वाचन २०८२ को चुरोदिन फागुन २१ गते आइपुग्न अब ३७ दिन मात्र बाँकि छ । निर्वाचनका लागि गरिने सबै ‘कर्मकाण्ड’ लगभग पूरा भएका छन् । निर्वाचन चिन्ह लिएर उम्मेद्वारहरूको बटालियन चुनावी युद्धमा होमिसकेको छ । अब बाँकि भनेको चुनाव प्रचार-प्रसार, मतदान र परिणाम हो । त्यसका लागि बन्दोबस्त मिलाउन राज्य र निर्वाचन आयोग लागेका छन् ।
निर्वाचन प्रयोजनका लागि भएको उम्मेद्वारी चयन र यस क्रममा भएको दल बदललाई हेर्ने हो भने यसपटकको चुनावमा पनि सत्ता र पद नै केन्द्रमा छन् । नयाँ हुन् वा पुराना लगभग सबै दल मूल्य, मान्यता, नीति, सिद्धान्तको लिकबाट पूरै पटरीमा उत्रेका छन् । नातावाद, कृपावाद, गुटबाद अरू मौलाएको छ । बाँकिमा मसल र मनि फेरि पनि उम्मेद्वारको खास योग्यता भएको छ । यसपटक थपिएको उम्मेद्वारको योग्यता सामाजिक सञ्जालमा को कति बलशाली छ र उसले कति भ्रम छरेर लोकरिझ्याइ गर्न सक्छ भन्ने हो । यो अतिरिक्त योग्यताले चुनावलाई अरू थप गिजोलेको छ ।
चुनावको मुखमा सत्ताको चास्नी चाखिसकेका वल्ला घरे नरेहरू पल्ला घरे हुने क्रम यसपटक अरू बढेको छ । खासगरी क्षेत्रीयतावादी दल बीचमा हुने दल अदलाबदल र गठन पुनर्गठनमा बदनाम मधेसले यसपटक सबै पुराना मानक नाघेको छ । त्यति मात्र हैन, यसपटक क्षेत्रीयतावादी मधेसी दलका मसल र मनीमा बदनाम धेरै नरेहरू राष्ट्रिय पार्टीमा सरेर हाताहाती उम्मेद्वारी लिएका छन् । यस मामलामा सबैभन्दा अगाडि ओलीको ओमाले नै रहेको छ ।
हुन त यो चुनावलाई टार्न ओलीले आफ्नो पुरानै बयलगाडा डक्ट्रिन प्रयोग गरेर संसद पुनर्स्थापनाको मुद्दा संवैधानिक बेञ्चसम्मै पुर्याए । यस क्रममा उनले जेनजी आन्दोलनको बेला हल बाँधेर सत्तामा रहेका जोडा देउबाको साथ पनि जुटाए । तर, बीचैमा ओलीसँग नारिएर पश्चगामी हलो जोतिरहेका देउबा कांग्रेस पार्टीबाटै किकआउट भए । ओलीले पनि कानून भन्दा पनि बाहिरी प्रभाव हेरेर निसाफ गर्ने वा ढिला गरेर निसाफ गरिनबाट रोक्ने संवैधानिक अदालतले संसद पुनर्स्थापना गर्ने कुनै सम्भावना देखेनन् ।
यही बीचमा ओलीले महाधिवेशन गरेर थप ओलीकरण गरेर एमालेलाई पुरै ओमाले बनाए । मनी र मसलका मधेसी नरेहरू पनि राम्रैसँग जम्मा गरेर एमाले भित्राए । कांग्रेस पनि विशेष महाधिवेशनको पक्ष र विपक्षमा ध्रुवीकरण हुँदा मानसिक विभाजनको स्थितिमा पुग्यो । प्रचण्ड-माधवले जति नै टालाटुली बटुले पनि त्यो टाल्नलायक भएन । नयाँ भनिएकाहरू पनि एक हुन सकेनन् । अझ रवि-बालेन र घिसिङ त एक भएर पनि छुट्टिए ।
अर्कोतिर, जसरी भए पनि चुनाव गराएर बाहिरिन चाहेको सुशीला सरकारलाई पनि ओलीलाई बिच्काएर चुनाव गराउन नसकिने जस्तो लाग्यो । सिंहदरवार पुगेको सुरूवाती दिनमा ओलीको मुख पनि हेर्न नचाहने अन्तरिम प्रधानमन्त्री कार्की ओलीसँगै तीन घण्टा गफ्फिन तयार भइन् । जेनजी आन्दोलनको जिमेवार ओली भनेर सामाजिक सञ्जालमा लेख्ने गौरी बहादुर कार्कीको आयोग पनि ओलीसामू निहुरमण्टी न भयो । उनको टोली ओली निबास गुण्डु पुगेर ओलीको तयारी अवस्थाको वयान जम्मा गरेर फर्कियो । त्यसपछि ओलीको स्थानहद हट्यो । सुरक्षाकर्मीहरू थपिए ।
यति सबै भएपछि चारमहिना अघि मात्र सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट ज्यान हत्केलामा लिएर भागेका वाचाल ओलीले चुनावी जोखाना हेरे । उनलाई लाग्यो, चुनावी पासा आफ्नै पक्षमा पल्टिन्छ । त्यसपछि लुरूलुरू दमक पुगेर उम्मेद्वारी दर्ता गरे ।
उम्मेद्वारी दर्ताको अघिल्लो दिनसम्म पनि ओलीलाई लागेको थियो कि बालेन दमक पुगेर उनलाई चुनौति दिदैनन् । बाँकिलाई त ह्याकुलाले नै मिच्चिन्छ । तर, बालेनले उनलाई करारी चक्मा दिए । यही बीचमा उनले दमकको नाडी पनि छामे । नाडीको धड्कन खासै उनको पक्षमा धड्किरहेको जस्तो लागेन । उनले केही प्रमुख मिडियाहरूलाई बोलाएर अन्तर्वार्ता दिए । अन्तर्वार्तामा ओली बालेनको उछितो काढ्न के भन्ने भन्दा पनि के नभन्ने स्थितिमा ओर्लिए । डेरा खोजिदिनेदेखि गुइँठा बाल्न आउँनेसम्म भन्न भ्याए । यो भनेको बालेनलाई हेप्ने मात्र कुरा थिएन, सिंगो मधेस र मधेसीलाई लाञ्छित गर्ने ओली-अभिष्ट पनि थियो ।
कुरा यतिमा मात्र सिमीत भएन । उनले काठमाडौं पुग्ने बित्तिकै शान्ति सुरक्षाको प्रसंग उप्काउँदै अझै पनि चुनाव हुनेमा संशय प्रकट गरे । एक विमान यात्रुको रूपमा विमानस्थलमा गरिएको चेकिङ-प्रोटोकललाई असामान्य बनाउने प्रयत्न गरे । ओलीलाई आफू राजा हुँ भन्ने लाग्छ, जो कोही यात्रु पनि गुज्रनुपर्ने प्रोटोकल उनले छुनै हुँदैन भन्ने लाग्छ ।
ओली आफ्नो जीत प्रति ढुक्क छैनन् । त्यसैले आफ्नो व्यक्तिगत चुनावी परिणामको संशयलाई सिंगो आमचुनावकै शान्ति सुरक्षासँग जोड्न चाहिरहेका छन् । चुनाव जित्ने जस्तो हुँदा शान्ति सुरक्षा ठीक हुने र हार्नेजस्तो भयो भने बेठीक हुने ओलीको सुरक्षा दृष्टिकोण हो । त्यसैले उनले भनेकै छन्, चुनाव हुन्छ कि आन्दोलन हुन्छ- अझै भन्न सकिन्न । यसको अर्थ उनले हार्नेजस्तो भयो भने आन्दोलन हुन्छ, जित्नेजस्तो भयो भने मात्र चुनाव हुन्छ भन्ने एक किसिमको धम्की नै हो ।
यतिबेला एमाले पुरै ओली-माले अर्थात् ओमाले भएको छ । सिंगो पार्टीको अस्तित्व र प्रतिष्ठा नै ओलीको लागि दाउमा हालिएको छ । पछिल्लो स्थितिले त एमाले ओलीको लागि जे गर्न पनि तयार देखिन्छ । यो कोणबाट हेर्दा चुनावी परिणाम ओलीको विपक्षमा मात्रै जाने स्थिति बन्यो भने पनि एमाले चुनावबाट बाहिरिएर आन्दोलनमा जान सक्छ । यस क्रममा सिंगो एमालेको चुनाव परिणाम नै पनि उसका लागि गौढ नहोला भन्न सकिन्न ।
जेनजी आन्दोलनका खलनायक ओलीलाई त्यही आन्दोलनका नायक बालेनले उनकै किल्लामा गएर चेकमेट दिएपछि झापा ५ आमनिर्वाचन २०८२ को ‘ग्राउण्ड जिरो’ भएको छ । यस क्षेत्रका ‘छोटेराजा’ ओलीलाई बालेनको दिएको यो राजनीतिक चेकमेट दुबैको राजनीतिक जीवनकै जीवन-मरणको प्रश्न पनि हो । पछिल्लो स्थिति हेर्दा जेनजी आन्दोलनमाथिकै मिनी जनमत संग्रह बन्दै गएको यो चुनावी युद्धको परिणाम यतिबेला चाहिँ अनुमान बाहिर छ ।
झापा ५ को चुनावी डाइनामिक्स
कसैले चाहे पनि नचाहे पनि यसपटकको आमचुनावको ग्राउण्ड जिरो झापा ५ नै हो । अहिले पुराना अझ सिधै भन्दा पश्चगमनको नेतृत्व ओलीले गरिरहेका छन् भने नयाँ अर्थात् अग्रगमनको नेतृत्व बालेनले गरिरहेका छन् । यी दुबैलाई उनीहरूका दलले प्रधानमन्त्रीको उम्मेद्वार नै घोषित गरेका छन् । यस अर्थमा झापा ५ मा अग्रगमन र पश्चगमनबीच एक किसिमको मिनी जनमत संग्रह नै हुन्छ । कसैलाई मन परे पनि नपरे पनि बालेन र ओली चुनावपछिका सम्भावित प्रधानमन्त्री नै हुन् । झापा ५ को निर्वाचन परिणामले एउटाको सम्भावना सिद्याउँछ भने अर्काको ज्यूँदै राख्छ । त्यसैले यो परिणाम व्यक्तिगत रूपमा दुबैको लागि राजनीतिक जीवनकै जीवन-मरणकै प्रश्न हो । फरक के छ भने ओली नै एमाले र एमाले नै ओली भैसकेको पछिल्लो अवस्थामा यो चुनाव एमालेको लागि पार्टीगत रूपमा पनि प्रतिष्ठाकै विषय हो तर रास्वपाका लागि अहिले नै त्यो अवस्था हैन । रास्वपाका ओली भनेका अहिले पनि रवि लामिछाने नै हुन् । अहिलेको अवस्थामा उनी चुनाव जितेर पनि सांसद हुन सक्दैनन् । उनको गर्दनमाथि संगठित अपराध र सम्पति शुद्धिकरणजस्ता फौजदारी मुद्दाको स्याँगी झुण्डिएकै छ ।
चुनाव जितेर पनि सांसद हुन नपाउने रविको रास्वपाले बहुमत नै ल्याए पनि प्रधानमन्त्री हुन पाउँदैनन्, त्यही भएर वालेनलाई भित्राएर रणनीतिक प्रधानमन्त्रीको डमी उम्मेद्वार बनाइएको तथ्य कसैसामु लुकेको छैन । रविलाई लागेको छ, चुनावी परिणाम आउनुअघि नै उनीमाथि लगाइएका संगठित अपराध र सम्पति शुद्धिकरणजस्ता फौजदारी मुद्दाबाट मुक्त भैसक्नेछन् । त्यसका लागि उनले वालेन-सुशीला प्रोक्सिमिटीलाई उपयोग गर्दै मुद्दा फिर्ता लिने निर्णय नै गराए । यही बीचमा त्यसविरूद्ध परेको मुद्दामा अदालतले मुद्दा फिर्ता लिनुपर्ने कारण सोधेकाले यो मुद्दा थप पेचिलो बनेको छ । मुद्दा फिर्ता लिनुपर्ने दशीप्रमाण नै केही नभएकाले यो मुद्दा रविले सोचेजस्तै सजिलै फिर्ता हुने सम्भावना देखिदैन ।
झापा ५ एमालेभन्दा पनि ओलीको गढ नै हो । २०६४-२०७०को ६ वर्षलाई छोडेर २०४८यता ओली यो क्षेत्रको सांसद रहदै आएका छन् । यस बीचमा चारपटक त प्रधानमन्त्री भए भने बाँकि समय पनि गठजोड सरकारमा निर्णायक रहदैआएका छन् । त्यसैले यो क्षेत्रका लागि ओलीले केही न केही त गरेकै छन् । त्यसको प्रभाव मतदातामा नपर्ने कुरै भएन । चुनावमा मनी र मसलको प्रभाव कसरी गर्नुपर्छ, ओलीलाई त्यसमा महारथ नै प्राप्त छ । जनतालाई कसरी भेडा बनाउनुपर्छ?, त्यसका लागि चाहिने साम, दाम, दण्ड, भेद त ओलीका परम्परागत हतियार नै हुन् । अझै पनि नेपाली मतदातामा झुटको खेती राम्रै हुन्छ, त्यसलाई फूलबट्टा गर्न भाषणकला चाहिन्छ । त्यसमा ओली लगभग बेजोडा नै छन् । यो क्षेत्रमा सूर्य चुनाव चिन्ह लोकप्रिय छ । अधिकांश वृद्धभत्ता लिनेहरू यो चुनावप्रति कृतज्ञ छन् । यो चुनाव चिन्हलाई भोट नदिदा पाप लाग्छ भन्नेहरूको संखाय पनि उल्लेख्य छ । तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला २०५१ सालमा मासिक एकसयबाट बढेर चारहजार पुगेको वृद्धभत्ता जेष्ठ मतदाताहरूको दैनिक गर्जो टार्ने लाइफलाइन नै भएको छ ।
यी तमाम पक्ष ओलीलाई जिताउनसक्ने बलवान पक्ष हुन् । तर, बिलोममा ओलीलाई हराउनसक्ने आधारहरू पनि प्रशस्तै छन् । पहिलो त ओली आफैं झापा ५ राजा र उनका स्थानीय कार्यकर्ताहरू भाइभारदार भैसके । यस क्रममा उनीहरूले मतदातालाई आफ्नै गोजीका माल सम्झेर अति पनि गर्न थालेका छन् । जनता त्यसबाट मुक्ति खोजिरहेको जस्तो देखिएको छ । दोस्रो आधार, जेनाजी आन्दोलनका बेला ७६ जनाको हत्या ओलीले गरेको र उनकै कारण झापा ५ का जनतामाथि रगतको दाग लागेको उनीहरूलाई लागेको छ । त्यो दाग मेटाउन र पाप पखाल्न पनि ओलीलाई हराउनुपर्ने उनीहरूलाई लागेजस्तो देखिन्छ । ओली पात्र र प्रवृतिका रूपमा नेपालका लागि अभिषाप भैसके । यो खलपात्र र प्रवृतिलाई राष्ट्रिय परिदृश्यबाटै नामेट पार्न आवश्यक हैन, अपरिहार्य भैसकेको छ । त्यसको अभिभारा झापा ५ का जनतालाई महसुस भैसकेको जस्तो छ । यस बीचमा एकीकृत एमाले पनि खण्डिकृत भैसकेको छ । ठूलो चोइटा नपरे पनि नेकपा एस हुँदै नेकपा हुनेहरूको संख्या र पछिल्लो समय पार्टीमा विकसित विद्यादेवी-महाधिवेशन प्रकरणले पनि केही हजार मतदाता यताउता भैसकेका छन् ।
ओली कित्तातिरका यी कारणका अतिरिक्त ओलीइत्तर कित्तामा पनि ओली हराउनसक्ने यथेष्ट आधार छन् । पहिलो त ओलीलाई चुनौति तेर्स्याउन साहस गर्ने बालेन शाह आफैंमा एक आशलाग्दा युवा आइकन हुन् । धेरैले उनैलाई जेनजी आन्दोलनको पर्दा पछाडिका मास्टर माइन्ड मानेका छन् । ओली विरूद्ध उभिने उनको साहसलाई झापा ५ का जनताले सकारात्मक रूपमा लिएका छन् । बालेनको अर्को सकारात्मक पक्ष कम एक्सपोज्ड हुनु पनि हो । यसको अर्थ, उनी अझै पनि उत्सुकता जगाउने क्षमता राख्छन् । चुनावमा जित्नका लागि ‘क्युरियोसिटी’ पनि एक महत्वपूर्ण तत्व मानिन्छ । उनी ‘कुरा हैन, काम गर्ने मान्छे हुन्’ भन्ने भाष्य निर्माण भएको छ ।
दोस्रो, ओलीलाई हराउनसक्ने उम्मेद्वार खोजिरहेका तटस्थ मतदाताका लागि उनी मात्रै सम्भावित उम्मेद्वार हुन् । यो विश्वास बन्दैगएको पृष्ठभूमीमा ओलीको विकल्प खोजिरहेका अन्य पार्टीका सामान्य शुभेच्छुक र मतदाताको रोजाइ पनि बालेन नै हुन्छन् ।
तेस्रो, झापा ५ मा चुनाव चिन्हका रूपमा घण्टीको लोकप्रियताको ग्राफ पनि बढ्दो छ । रास्वपा सभापति रवि यसअघि जति लोकप्रिय नभए पनि बालेनले त्यसको सोधभर्ना गरेका छन् ।
चौथो, यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने मात्र हैन, विकसित देशमा पुग्ने नेपालीको संख्या पनि उल्लेख्य छ । ती सबैले जेनजी आन्दोलनका ७६ जना किशोरको रगतको होली खेल्ने ओली नामको कलङकको टीका आआफ्नो निधारमा लागेको ठानेका छन् । यसपटक त्यो टीका हटाउन पनि उनीहरू आफ्ना अभिभावक र नातेदारको मन र मत बदल्न हरसम्भव प्रयत्न गरिरहेका छन् ।
पाँचौ, झापा ५ का लगभग सबैको हातमा स्मार्ट फोन छ र तीमध्ये अधिकांशमा रवि, बालेन र घण्टीको पक्षमा र ओलीको विपक्षमा मिडिया कन्टेन्ट प्रवाह गरिरहेका छन् । गोयवल्श शैली सही, सयौचोटी उही कन्टेन्ट आइरहदा त्यसको टिकल डाउन प्रभाव पनि मतपत्रमा अनुदित नहोला भन्न सकिन्न ।
बालेनलाई शंकाको सुविधा
ओली र रवि दुबै एउटै सिक्काका दुई पाटा हुन् । यो वा त्यो नामका यी लोकप्रियतावादीहरू नेपालका लागि समस्या हुन्, समाधान हैनन् । आफ्ना लागि जे पनि गर्न तयार यिनीहरू आआफ्नो पार्टीका नेता कम, मठाधीश बढी हुन् । यी दुबैले आआफ्ना पार्टीलाई कब्जा गरेर प्राइभेट लिमिटेड कम्पनी नै बनाएका छन् ।
रास्वपा नै रवि, रवि नै रास्वपा बनाइएको अहिलेको अवस्थामा बालेन रास्वपाका धेरै दिनका पाहुना हैनन्, यो पनि सत्य हो । रविले बालेनलाई पनि छिट्टै आफूजस्तै जडौरी बनाउन प्रयत्न गर्छन् । तर, बालेनको विगत रविको जस्तो विवादास्पद पनि छैन र उनी रविजस्तो अनेक मुद्दाका दागी पनि हैनन् ।
रविको रणनीतिक गोटी हुनबाट जोगिएर उनको चाललाई माथ दिएर दाउमा लागेको आफ्नो राजनीतिलाई जोगाए भने बालेनबाट आशा गर्न सकिने धेरै ठाउँ हुन सक्छ । त्यही आशा र विश्वासकबा साथ एक फरक सम्भावनाका रूपमा झापा ५ का मतदाताले बालेनलाई यसपटक शंकाको सुविधा दिन पनि सक्छन् । तर, शर्त एउटै हुन सक्छ, उनीहरूलाई एक फरक मानकको कामकाजी नेता बालेन चाहिएको हो, ओलीको नयाँ भेरियन्टका रूपमा आइलागेको भाषणबाण रविको डमी हैन ।
(दृष्टि साप्ताहिकको नियमित स्तम्भ 'बिलोम' मा प्रकाशित यो आलेख स्तम्भकारको अनुमति लिएर नयाँ शीर्षकमा प्रकाशित गरिएको छ : सम्पादक)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया