मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए। उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए। यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ।
बिएल संवाददाता - मनाङ