
थाइल्याण्डबाट फर्किएपछि ओलीले भनेः सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन्। शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन्। पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो। यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ। युरोपमा कार्यक्रमहरू तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन। तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ।’ उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए। उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरूलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए।

बिएल संवाददाता - काठमाडौं