प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट भैरहेको निर्माण कार्यलाई हेरेर विपक्षी दलका नेताहरु आतिएको बताएका छन् ।
विरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा समाजवादी पार्टी वडा कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा लामो समय सत्तामा रहेकाहरुले गरेको विकास निर्माणको कार्य र प्रदेश सरकारले पछिल्लो समयमा गरिरहेको विकास निर्माणको कार्य जनता समक्ष छर्लङ्ग रहेको बताए ।उनले विगतमा केही गर्न नसकेकाहरु अहिलेको विकास निर्माणको गतिलाई देखेर आतिदै अनावश्यक बखेडा झिकि रहेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको लगानीमा भैरहेको निर्माण कार्यहरुको बारेमा खुलस्त पार्दै विरगंजको श्रीपुरमा लाइब्रेरी तथा विभिन्न टोलमा सडक निर्माण साथै प्रदेश भरी मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गतको साइकल वितरण, छात्रा शौचालयको निर्माण, छोरी शिक्षा विमा, स्वच्छता अभियान अन्तर्गतको मुर्ली र नगवा पोखरीको सौन्दर्यीकरण विपक्षीहरुको लागि अपच भैरहेको दावी समेत गरे।
सो कार्यक्रममा सहभागी समाजवादी पार्टीकाइकाई अध्यक्ष प्रसन्न महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जिल्ला अध्यक्ष राम नरेश यादव, नेताहरु सुन्दर कुर्मी, अजय चौरसिया, मोस्तकिम अन्सारी, सल्लाउदिन अहमद लगायतले आ–आफ्नो मनतव्य ब्यक्त गरेका थिए ।