निवर्तमान सभामुख महराको प्राविधिक अनुसन्धान सकियो, बयान भने लिन बाँकी

फाइल तस्बिर

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको प्राविधिक अनुसन्धानको पक्ष टुंगिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अब महराको बयान लिन मात्रै बाँकी रहेको बताए । ‘प्राविधिक परीक्षण र घटनाको बाँकी अनुसन्धन लगभग पूरा भएको छ,’ सुवेदीले भने, ‘अब उहाँको बयान लिन मात्रै बाँकी छ ।’प्रहरीले घटनाको प्राविधिक विश्लेषणसहितको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।अब सरकारी वकिलको कार्यालयले महरासँग बयान लिएर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी थालेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतका अनुसार अहिले प्रहरीको प्राविधिक अनुसन्धानको प्रतिवेदनलाई एकीकृत गर्ने काम भइरहेको छ ।सोमबार महरालाई अदालतमा उपस्थित गराइने तयारी थियो । तर, पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा सोमबार पनि देशभरका सबै तहका अदालत बन्द रहे ।

अब, मंगलबार मात्रै महरालाई अदालतमा उपस्थित गराइएनेछ । महरालाई अदालतमा उपस्थित गराइएपछि उनीमाथि अनुसन्धानका लागि म्याद थप हुने छ । अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी म्याद थप गर्ने छ । प्रहरीले महराको बयान लिने लगायतका केही काम बाँकी रहेकाले पुनः म्याद थपका लागि अनुरोध गरिने जनाएको छ ।

महराको बयान लिनेसहितको अनुसन्धान प्रक्रिया सकिए पछि मात्रै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गर्ने छ ।

सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले असोज १९ गते आइतबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखको सरकारी निवास पुगेको थियो।प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्।तर, महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।सञ्चारमाध्यमबाट यौन दुर्व्यवहारको आरोपबारे समाचार सार्वजनिक भएसँगै सत्तारूढ दल नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा गर्न सुझाव दिएको थियो।

त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए।महराबाट आफू बलात्कृत भएको दाबी गर्ने ती महिलाले पछि एक अनलाइन न्यूजपोर्टलमार्फत् आफूले आवेशमा आएर त्यसो भनेको भन्दै आफूले लगाएका आरोपहरू फिर्ता लिएकी थिइन्।

तर उनले महराले बलात्कार गर्न खोजेको किटानी गर्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शुक्रबार राति जाहेरी दर्ता गराएकी थिइन्। त्यसपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

प्रकाशित मिति: : 2019-10-14 14:46:31

प्रतिकृया दिनुहोस्