राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे चासो देखाएको छ ।
उसले घटनाको अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली नै बनाएको छ ।
आयोगले महरा र संसद सचिवालयकी कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको कामकारबाहीबारे जानकारी मागेको छ ।
साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको आयोगले जनाएको छ ।
मानव अधिकार आयोग पर्व बिदामा खुला रहने
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुला रहने भएका छन् ।
आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।