असोज १३, २०७६
काठमाडौं– प्याज निर्यातमा भारतले रोक लगाएपछि नेपाली व्यापारीले प्याजको कालोबजारी शुरू गरेका छन्।आइतवारदेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली व्यापारीले बढी नाफाको लोभमा कालोबजारी शुरू गरेका हुन् ।
प्याज लुकाएर व्यापारीहरूले मूल्य पनि एक दिनमै ३० रुपैयाँभन्दा बढी बढाइसकेका छन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमवार गरेका अुनगमनका क्रममा व्यापारीले प्याजमा कालोबजारी शुरू गरेको पाएको छ । अनुगमन टोलीले कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारीले प्याज लुकाएको भेट्टाएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजारको अर्याल आलु प्याज सप्लायर्सको प्याज गोदाममा अनुगमन गर्दा त्यहाँ २ सय बोरा प्याज लुकाइएको भेटिएको अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले जानकारी दिए ।