नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा, २०१९ सम्म शतप्रतिशत घरमा चर्पी निर्माण गर्ने लक्ष्य (भिडियोसहित)

बिएल

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।

नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।

कति बने शौचालय ?
घोषणाअघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले आधारभूत सरसफाइमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइमार्फत स्वच्छ र स्वस्थ्य नेपाल निर्माण गरिने बताए ।उनका अनुसार १९८० मा २ प्रतिशत नेपालीको घरमा चर्पी रहेकामा सन् २०१० मा ४३ प्रतिशत पुग्नेछ ।२०११ मा सरसफाइ गुरुयोजनामार्फत जनताकै लगानीमा २०१९ सम्म आधारभूत सरसफाइ अन्तरगत शतप्रतिशत घरमा चर्पी निर्माण भएको पनि उनले जानकारी दिए ।

हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

 

प्रकाशित मिति: : 2019-09-30 14:24:05

प्रतिकृया दिनुहोस्