नेपालले टेष्ट राष्ट्र जिम्बाम्बेलाई जितको लागि १३३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालको खराब सुरूवात गर्यो। इशान पाण्डे दोस्रो ओभरमा ४ रन बनाएर आउट हुन पुगे।
त्यसपछि आरिफ शेख र अर्का ओपनर पारस खड्काले दोस्रो विकेटको लागि २७ रनको साझेदारी गर्दै नेपाललाई अगाडि बढाए। तर, सातौं ओभरमा आरिफलाई वेलिंगटन मासाकाड्जाले आफ्नै बलमा क्याच आउट गरेपछि नेपालको दोस्रो विकेट गुम्यो।
त्यसलगत्तै आठौँ ओभरमा कप्तान पारस खड्का लामो सर्ट खेल्ने क्रममा रायन बर्लले क्याच आउट गरे। उनले १८ रन जोड्दा आरिफले ८ रन बनाए।
त्यसपछि डेब्यू गरिरहेका अर्का खेलाडी कुशल मल्लले पनि २ रन मात्र बनाए। उनलाई सेन विलियम्सले क्याच आउट गरे।
१०.१ ओभरमा ५५/४ को स्थितिमा पुगेको नेपाललाई उपकप्तान दिपेन्द्र ऐरी र सन्दिप जोराले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ३४ रनको साझेदारी गर्दै।
सम्मानजनक स्कोर नजिक पुर्याए। १७ रन बनाएका जोरालाई १६ औं ओभरमा माडजिभाले क्याच आउट गराएपछि नेपालको पाँचौ विकेट गुम्यो। उनले १५ बल खेल्दै २ चौका प्रहार गरे।
एक किनारमा राम्रो खेलीरहेका दिपेन्द्र ऐरी १७ औं ओभरमा आउट भए। ३३ बलमा ५ चौका प्रहार गर्दै ४० रन बनाएका उनी अर्धसतकबाट १० रनले चुके। उनलाई सेन विलियम्सले क्याच आउट गरे।
१६.३ ओभरमा ९५/६ को अवस्थामा रहेको नेपाललाई सातौं विकेटको लागि बिनोद भण्डारी र सोमपाल कामिले अविजित ३७ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याए।
सोमपालले अविजित २५ रन बनाउने क्रममा १४ बलमा ३ छक्का प्रहार गरे। बिनोदले ११ रन बनाउन १२ बलमा १ चौका प्रहार गरे।
जिम्बाम्बेको बलिङमा सेन विलियम्सले सर्वाधिक २ विकेट लिए। यस्तै वेलिंगटन मासाकाट्जा , रायन बर्ल , नेभिले माडजिभा तथा टेन्डाइ चताराले समान १/१ विकेट लिए।
नेपाली टिममा कुशल मल्ल र इशान पाण्डेको डेब्यु
त्रिकोणात्मक सिरिज अन्तर्गत जिम्बाब्वेबिरुद्ध पहिलो खेलमा इशान पाण्डे र कुशल मल्लले डेब्यू गरेका छन्।
जिम्बाबे बिरुद्ध इन्डियन एसोसिएसन मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले अन्तिम-११ मा रोहित पौडेल, पवन सर्राफ, सुशन भारि र ललित राजबंशीलाई आराम दिइएको थियो।
इशान पाण्डे र कुशल मल्ल नेपालको लागि टी-२० अन्तर्रष्ट्रिय खेल्ने २८ औं र २९ औं खेलाडी बनेका छन्। दुवैले यसअघि नेपाली अन्डर-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।
यु-१९ राष्ट्रिय क्रिकेटर कुशल मल्ल, इशान पाण्डेले टिममा पहिलो पटक मौका पाएका हुन्। इशान २०१६ अन्डर-१९ विश्वकपमा टिममा रहेता पनि अन्तिम-११ मा भने मौका पाउन असफल रहेका थिए।
त्यसपश्चात पाण्डे घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। पाण्डेलाई ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा आज ओपनिङको मौका दिइएको थियो। तर ८ बल खेल्दै उनी चार रनमा आउट भए।
यस्तै पहिलो पटक सिनियर टिममा मौका पाएका कुशल मल्लले पनि राम्रो प्रभाव छोड्न सकेनन्। अन्डर-१६ टिम हुँदै अन्डर-१९ राष्ट्रिय टिमबाट नियमित रुपमा खेल्दै आएका उनले डेब्यू खेलमा ६ बल खेल्दै २ रन बनाए।