प्रधानमन्त्री ओली र मोदीबीच दिल्लीमा आधाघन्टा भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली, जेठ १७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

मोदीको दोस्रो कार्यकालको सपथ समारोहमा भाग लिन पुगेका ओलीले समकक्षीसँग शुक्रबार भेटवार्ता गरेका हुन्।

‍नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा करिब आधा घण्टा भएको भेटका क्रममा ओलीले मोदीलाई दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका थिए।

त्यस क्रममा मोदीले दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई अझै मजबुत बनाउँदै नजिकमा रहेर काम गर्न चाहेको बताएका थिए।

भेटघाटमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिसकुमारका अनुसार दुई नेताबीच सदियौँदेखिको दुई र जनताबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउनेबारे वार्तामा कुरा भएको थियो।

गत मे १९ मा सम्पन्न निर्वाचनमा सबैभन्दा बढी सिट जितेको भाजपाको नेतृत्वमा सरकार बनेको हो। प्रधानमन्त्रीका नरेन्द्र मोदीसहित ५८ मन्त्रीले बिहिबार राष्ट्रपति भवनमा सपथ लिएका थिए।

हिजो बेलुकी भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रिभोजमा पनि ओली सहभागी भएका थिए। 

प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम छ।

(तस्बिर : भारतीय विदेश मन्त्रालय)

प्रकाशित मिति: : 2019-05-31 13:29:53

प्रतिकृया दिनुहोस्