ओली-प्रचण्ड लिखितम् बाहिरियो: 'सिंगारी पनि हरायो, स्याल पनि करायो!

ओली-प्रचण्ड लिखितम् : साक्षी छड्के किनाराका सदर । स्केच: ब्रेक एन लिंक्स

नेपालको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका पूर्व दुई घटक नेकपा एमाले र नेकपा (माओवादी) का बीच भएको पार्टी एकताको पाँचबुँदै सहमतिपत्र सार्वजनिक भएको छ।सहमतिको चौथो बुँदामा भएको 'समानता र समान अवधिका आधारमा आवश्यकताअनुसार दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने' भन्ने प्रावधानका कारण बाहिरिएको यो सहमतिपत्रले नेपालको सत्ता राजनीतिमा हलचल पैदा गरेको छ। यो हलचलमा प्रचण्ड आक्रामक हुन सक्छन् भने ओलीलाई रक्षात्मक बन्नुपर्ने परिस्थिति सिर्जना हुन सक्छ। 

सहमतिपत्रको यही बुँदाले तत्कालिन नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीको सत्ताको म्याद घटाइरहेको र तत्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणको समय नजिकिई रहेको देखाउँछ।यो बुँदाको बारेमा प्रशस्त चर्चा भए पनि दुबै पक्षले यसलाई भरसक लुकाउँदै आइरहेका थिए।तत्कालिन एमाले अध्यक्ष ओली र उनका किचेन क्याबिनेटका मानिसहरू त यो सुन्न पनि चाहदैन थिए र ओली नै पाँचवर्षे प्रधानमन्त्री हुने कुरा ढुक्कसँगले बताउँदै आएका थिए।तर, तत्कालिन माओवादी अध्यक्ष र उनका अनुयायीहरू भने त्यस्तो कुरा सिधै स्विकार नगरी पार्टीकै सरकार पाँच वर्ष चल्ने तर को प्रधानमन्त्री हुने भन्ने कुरा पार्टीको आन्तरिक कुरा भएको बताउँने गर्थे। 

‘पार्टी एकताका बेला हामी (म र ओली जी) बिच भएको सहमति लुकेको छैन, त्यो लिखित नै छ । जसमा स्पष्ट रुपमा सत्ता सञ्चालन आलोपालोका आधारमा गर्ने भन्ने उल्लेख छ।’
- प्रचण्ड, सहअध्यक्ष नेकपा 

कतिले यो भद्र सहमतिको विषय बनाइए पनि लिखितम् नै नभएको अनुमान लगाएका थिए। नेकपाका केन्द्रीय सदस्य तथा पूर्व एमाले नेता टंक कार्कीलाई पनि यस्तै लाग्थ्यो। उनले यो लिखितम् सार्वजनिक हुनुलाई 'सिंगारी पनि हराउनु स्याल पनि कराउनु !' को संज्ञा दिदै लेखेका छन्- 'Tacit Understanding भ'को त सुनेको हो, लिखत नै रहेछ।के भो त ?! आधि समय गुज्रन अझै एक वर्ष छ। एक वर्ष पछि खुला भ'को भए भई हाल्थ्य नी ! अहिले नै केको हतारो परेछ ?! सायद यो गर्मीको मौसम भएर होला !'

धेरैले अनुमान गरेकै थिए- प्रचण्डले आफू प्रधानमन्त्री हुन नपाउँने शर्तमा त यो पार्टी एकता पक्कै पनि गरेका छैनन्। तर, यसको लिखत नै चाँहि बनेको छैन होला, भद्र सहमतिसम्म भएको हुनुपर्छ। तर, प्रचण्डलाई नजिकबाट बुझ्नेहरू भने पक्कै पनि लिखत नै हुनुपर्छ भन्ने ठान्थे। उता, ओली भने आफ्नो स्वार्थ तत्काल पूर्ति गर्न जे जस्तो पनि उधारो सहमति गर्न पनि माहिर मानिन्छन्। त्यसैले उनले आफू प्रधानमन्त्री हुनका लागि जे पनि हुन्छ भनेको हुनुपर्छ। उनलाई नजिकबाट चिन्नहेरू भन्छन्, ओली पहिला जे पनि हुन्छ भनेर फसाउँछन् र अड्केपछि केही पनि हुदैन भन्छन्। 

‘ओली जी ले राम्रो काम गर्दै जानु भयो भने त्यसमा मेरो साथ र समर्थन रहन्छ । सम्झौतामा जे लेखिएको भए पनि म उहाँसँग प्रधानमन्त्री पद चाहियो भन्न जान्नँ । तर मेरो भूमिका पनि स्पष्ट हुनु पर्छ । त्यसबारे पार्टी पंक्तिमा छलफल भइरहेको छ।’
- प्रचण्ड, सहअध्यक्ष नेकपा 

तत्कालिन एमाले र माओवादी एकतामा पनि ओलीले त्यही रणनीति अपनाएको जस्तो देखिन्छ। प्रचण्डनजिकका एक नेताले भने- सुरूमा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री र अध्यक्ष हुने सहमति भएकै हो।पहिला ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष हुने र अढाइ वर्षपछि प्रचण्ड प्रधानमन्त्री र ओली अध्यक्ष हुने।तर,पार्टी एकता भएर आफ्नो हात माथि परेपछि ओलीले सहअध्यक्ष प्रणालीमा पार्टीलाई लगेर आफूलाई नै एक नम्बरको अध्यक्ष बनाए।यसबाट झस्केका प्रचण्डलाई अढाई वर्षपछि पनि प्रधानमन्त्री हुन दिन नहुने हो कि भन्ने चिन्ता बढेको छ।यस बीचमा ओलीले पूर्वमाओवादी भित्र निक्कै खेलेर वादललगायतका नेतालाई आफ्नो पक्षमा पारिसकेका छन्।अहिले उनी भोली प्रचण्ड बाहिर निस्कदा पनि सांसद वा केन्द्रीय सदस्यको ४० प्रतिशत पुग्न निदने खेलमा लागेको जस्तो देखिएको छ।  

ओलीको यही रणनीति बुझेर केही दिनअघि मात्र प्रचण्डले पार्टीमा आफ्नो भूमिकाको माग गरेका थिए।ओलीको 'ट्रयाप'मा परेका प्रचण्ड अहिले उकुसमुकुसमा छन्। सरकारको कामबाट जनता सन्तुष्ट छैनन्, पार्टी सुन्निएर मोटाएको अवस्थामा छ। पार्टी र सरकार दुबैमा नेकपाभन्दा पनि ओलीराज हाबी छ। 

यही पृष्ठभूमीमा ओली र प्रचण्डबीच भएको लिखित सहमतिपत्र नै बाहिर आएको छ।यो पत्रले अब ओली र प्रचण्डबीचको टसल बढ्ने छ।त्यो टसलले पार्टीभित्रको ओलीविरोधी खेमालाई बल पुग्नेछ। तर, ओलीलाई नजिकबाट बुझेकाहरू भन्छन्- उनले सहमतिअनुसार नै प्रधानमन्त्री बनाउने घाँस प्रचण्डको टाट्नामा हालिदिने छन्। र, कुनै न कुनै रूपमा सहमतिको बुँदा नम्बर ४ मा भएको '...आवश्यकताअनुसार...' शव्दको अपव्याख्या गरेर भए पनि आफू पाँच वर्षकै प्रधानमन्त्री भएको सन्देश सर्वसाधारणमा पुर्याउँछन्।यसका लागि उनको किचेन क्याविनेटका गोयबल्स र सामाजिक सञ्जालका अरिंगालहरू तमतयार नै छन्। 

समग्रमा यो सहमतिपत्र सार्वजनिक भएसँगै एउटै टिमबाट खेलिरहेका नेपाली राजनीतिका दुई धुर्त खेलाडीबीचको टसल बढ्ने छ। र, यसपछि खेलमा दुई सम्भावना बाँकि रहन्छन्- दुबै मिलेर अढाइ-अढाई वर्षमा सत्ता गोल हान्ने वा गोल हानिसकेका ओलीले प्रचण्डलाई गोल नै नदिएर बरू आफ्नै पोष्टमा आत्मघाती गोल हान्ने।अहिले गोल ओलीको खुट्टामा छ, उनले प्रचण्डलाई पास दिएर गोल गर्न दिन्छन् वा उनलाई गोल हान्न नदिएर आफ्नै गोलपोष्टमा आत्मघाती गोल हान्छन्। त्यसका लागि केही समय पर्खनुपर्ने हुन्छ।समयक्रममा सबै घटनाक्रम उज्यालोमा आउँनेछन्। 

यो लेखिरहदा मोदीको पाहुनाका रूपमा ओली नयाँदिल्लीमा छन्। नेपालमा संविधान जारी नगर्न मोदीको दूत बनेर आएका एस जयन्त अप्रत्यासित रूपमा मोदी क्याविनेटमा परेका छन्। यता, नेपालमा सहमतिपत्र सार्वजनिक भएको छ। 

प्रकाशित मिति: : 2019-05-31 00:21:36

प्रतिकृया दिनुहोस्