आज जेठ १५, ११ वर्षअघि आजकै दिन नेपालमा गणतन्त्र घोषणा भएको थियो।२०६२–०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेको थियो।त्यसयता मुलुकले गणतन्त्रका ११ वर्ष पूरा गरेको छ।
नेपालमा गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १५ का दिन गणतन्त्र दिवस मनाउने गरिएको छ।
नेपालमा २४० वर्षसम्म विभिन्न रूपमा चलेको राजतन्त्रको लामो श्रृंखला अन्त्य गरी गणतन्र स्थापना भएको थियो। गणतन्त्रकै मर्म र भावनाअनुसार मुलुक संघीय गणतन्त्र भएको छ र त्यहीअनुसार संवैधानिक व्यवस्था गरी त्यसको अभ्यास पनि सुरू भएको छ। मुलुकमा गणतन्त्र स्थापना भएपछि पनि लामो समयसम्म राजनीतिक स्थिरता हुन सकेन। संविधान निर्माण प्रक्रिया सहजै ननिम्टिएको र कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुक सहमति र सहकार्यका नाममा बाँडीचुडी संस्कारको शिकार बन्यो। अहिले त्यो परिस्थितिमा परिवर्तन् आई मुलुकमा एउटै पार्टीको झण्डै दुईतिहाई बहुमतको सरकार चलिरहेको छ।
तर, दु:खका साथ भन्नुपर्छ यो पनि नेपालमा अर्को एक प्रयोग जस्तै मात्र भएको छ। यो प्रचण्ड बहुमतले जनताको जनादेशको नाममा यो वा त्यो नामका अनेक छोटे राजा र दरवार दडा गर्ने काम भएको छ। सम्मानका नाममा नेताहरुमा देखिएको सुविधाभोगी प्रवृत्तिले आमजनतामा नयाँ राजाहरू सत्तासिन भएको अनुभूति हुन थालेको छ। सुशासनको अभाव त छँदैछ, सानो कामभन्दा पनि कुरा बढी गर्ने फटिचर संसकृतिको विकास भएको छ।
यही विसंगति, विकृति र अव्यवस्थाको मलजलमा पूर्वराजा ज्ञानेन्द्रको गतिविधि पनि मुलुकमा बढ्दैछ।एउटा तह र तप्काका जनतामा राजा नै ठीक हुन् कि भन्ने पनि लाग्न थालिसकेको जस्तो देखिएको छ। यसलाई वर्तमान सरकारले आफ्नो कमजोरी देख्नेभन्दा पनि गणतन्त्रका विरुद्धको अभियानका रूपमा बुझेको जस्तो देखिन्छ। तर, लोकतन्त्रमा एक जना सामान्य नागरिकका रूपमा ज्ञानेन्द्र ज्ञाह जनता जानुलाई अस्वभाविक मान्नु हुन्न।र,गणतन्त्रका विरूद्ध नै उनी जनतामा शान्तिपूर्ण किसिमले जान चाहन्छन् भने त्यसका लागि लोकतन्त्रमा स्पेस हुदैन भन्न पाइन्न।
अर्कातिर विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी पनि सशस्त्र आन्दोलनमा उत्रेको जस्तो देखिएको छ। उसका गतिविधिलाई नियनत्रण गर्ने नाममा पार्टीमाथि नै सरकारल प्रतिवन्ध लगाइदिए पछि मुलुक फेरि एकपटक आन्तरिक द्वन्दमा फसेको अनुभूति हुन थालेको छ। लोकतन्त्रमा हिंसा जति बर्जित छ, राज्यसत्ताबाट दमन पनि त्यतिकै बर्जित हुन्छ। वार्ताको माध्यमबाटै आन्दोलनकारीलाई सम्बोधन गर्नु बुद्धिमानी हुने देखिन्छ।मुलत: मुलुकमा विप्वव जन्मनुम बर्तमान सत्ताधारी दल र प्रमुख प्रतिपक्षमा रहेका दल नै जिम्मेवार छन्। उनीहरूले सुशासन र सामाजिक न्याय दिन नसकेकाले नै विप्लव मात्र हैन, विप्लवहरू जन्मने हुन्।
जे होस् मुलुकले ११औं गणतन्त्र दिवश मनाइरहेका बेला यसमा खुशी हुनेहरूको संख्या जति नै बेखुशी हुनेहरूको संख्या पनि देखिन थालेको छ। यो यथार्थलाई स्वीकार गरी त्यसको कारण सम्बोधन गर्न सकियो भने मात्र मुलुकमा गणतन्त्र एक स्थायी राजनीतिक प्रणाली बन्न सक्छ। अन्यथा यो पनि एउटा पाहुना राजनीतिक प्रणाली नै सावित नहोला भन्न सकिन्न।
यसैबीच नेपालको संघीय सरकारले सरकारीस्तरमा टुंडिखेलमा गणतन्त्र दिवश मनाउदैछ। राष्ट्रपति भण्डारीले नारायणहिटी दरवारमा गणतन्त्र स्मारक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रदेश र स्थानीय निकायमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिदैछ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायतका अन्य ठुलाबडाले शुभकामना मन्तव्य जारी गरेका छन्। केही कैदीबन्दीहरू आममाफी पाएर छुटेका छन्। यस्तै यस्तै कर्मकाण्डी क्रिया प्रक्रियाबाट सनातनी पारामा नेपालमा ११औं गणतन्त्र दिवश मनाइदैछ।
आजको दिनलाई नेपालमा केही वर्षयता बजेट दिवशका रूपमा पनि मनाइने गरिएको छ। यही दिनमा संसदमा संघीय सरकारले बजेट प्रस्तुत गर्ने गर्छ। ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रोपटक आज अपरान्ह संसदमा संघीय सरकारको बजेट प्रस्तुत गर्दैछन्।