क्यानडाको टोरन्टोमा रहेको नेपाली डायस्पोरामा एक गोलमेच कार्कक्रमको आयोजना गरिएको छ । कन्सर्न नेपाल क्यानडाले आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमण बष॔ २०२०, संबिधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवसकाे विषयमा छलफल गरिएको थियो ।
संस्थाका संयोजक डा. तुलसी धरेलका अनुसार नेपालको राष्ट्रगानबाट सुरु गरिएको कार्यक्रमको पहिलो चरणमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन के कसरी ससहयोग गर्न सकिन्छ भन्ने बारेमा विचार विमर्श गरिएको थियो ।
सहभागीले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन अभियानमा के कसरी समर्थन, साथ र सहकार्य गर्न सकिन्छ ? नेपालमा पर्यटक बढाउन क्यानडाबाट के कस्तो सम्भावना छ ? हाल क्यानेडियन नेपाली संघ-संस्थाबाट पर्यटन प्रवर्द्धनका लागि के कस्ता प्रयत्न गरिएका छन् ? लगायतका विषयमा पनि सहभागीहरूले आ-आफ्ना धारणा राखेका थिए ।
उनीहरूले एकजनाले एकजनालाई नेपाल पठाउन सकियो भने पनि समग्रमा ठुलो संख्यामा पर्यटकमा वृद्धि हुने धारणा राखे । नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार अधुरै भएकोले नेपाल पर्यटन बोर्ड, होटल ब्यबसायी र पर्यटन ब्यबसायीबीच कार्यगत समन्वय हुन् आबश्यक भएको बताउँदै सहभागीहरूले नेपाल भ्रमण वर्ष लिखित पोस्टर बसमा राखेर, फेसबुक पेजमा नेपाल भिजिट राखेर, क्यानाडियन समाचार टोरोन्टो स्टार र सी बि सी न्युजमा छोटा छोटा संदेश लेखेर क्यानेडियन नेपालीले सहयोग गर्न सक्ने धारणा राखिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा नेपालको संविधानको बारेमा विचार विमर्श गरियो । उनीहरूले संविधान लागु हुने क्रममै रहेको बताउँदै यसले बिस्तारै गति लिदै गरेको पनि जनाए । संविधान समयानुसार परिवर्तन हुने दस्तावेज भएको बताउँदै उनीहरूले आवश्यताअनुसार यसमा संशोधन हुन सक्ने धारणा पनि व्यक्त गरे । यसका लागि सबैमा सकारात्मक सोच र धैर्य हुन आवश्यक रहेको पनि उनीहरूको धारणा थियो ।
अन्तर्राष्ट्रिय शान्ति दिवश र संबिधान दिवस नेपालको सन्दर्भमा एकअर्कोमा महत्वपूर्ण रहेको बताउँदै नेपालमा शान्ति कायम राख्न सके नेपालको विकास सम्भव भएको सहभागीहरूको विचार थियो ।
भारत र चीनजस्ता विशाल अर्थतन्त्र भएका छिमेकीको सहयोग र साथ लिन सके नेपाल समृद्ध र नेपाली सुखी हुन सक्ने सहभागीहरूले बताए ।
नागरिकता बिधेयकले छिटै पूर्णता पाउनुपर्ने बताउँदै बंसजको आधारमा नागरिकता पाएका नेपालीले बिदेशी नागरिक लिएका भए तापनि साबिकको नागरिकताले निरन्तरता पाउनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरे ।
क्यानेडियन नेपाली समुदायका अभियन्ताको उपस्थिति रहेको कार्यक्रमको संयोजन कन्सर्न नेपाल क्यानडाका संयोजक डा तुलसी धरेलले गरेका थिए । गोबिन्द शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा गोलमेच सम्मेलनमा गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका पूर्वअध्यक्ष गोपीकृष्ण काफ्ले, डा. राजन पोख्रेल, कानुन ब्यबसायी अमृत शर्मा, चन्द्र राई ,केदार बस्नेतलगाएतले आआफ्नो विचार व्यक्त गरेका थिए ।