नेपालमा तीन अमेरिकी दण्डित, ५०-५० हजार जरिवाना

पर्यटक भिसामा आएर काम गर्ने अमेरिकीलाई सजाय : कानून त पालना गर्नै पर्यो नि ! तस्बिर : यूएससीआईएस

नेपालमा तीनजना अमेरिकी नागरिकलाई जनहरी ५० हजारका दरले जरिवाना गरिएको छ । उनीहरू पर्यटन भिसामा आएर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का परियोजनामा कार्यरत रहेकाले जरिवानामा परेका हुन् ।

नेपालमा पर्यटन भिसामा गएका कोहीले पनि काम गर्न पाउँदैनन् । काम गर्नका लागि उनीहरूले वर्किङ भिसा लिनुपर्छ । 

यसैगरी अन्य देशका ८ जना नागरिक पनि कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा तनहुँ हाइड्रोपावरका ४, नेपाल विद्युत् प्राधिकरणअन्तर्गत आयोजना र अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत् तीनजना रहेका छन् । 

यो पनि समाचार हेर्नुहोस् 
न्यूयोर्क पुगेपछि परराष्ट्र मन्त्रीको पहिलो कुराकानी

अध्यागमन विभागका अनुसार गृहसचिवस्तरीय निर्णय गरी पर्यटक भिसा दुरुपयोग गर्ने विदेशीसँग जरिवाना असुलीका लागि विभागमा लेखी पठाइएको छ । सचिवस्तरीय निर्णयमा उनीहरूलाई काम छोड्न वा वर्किङ पर्मिट भिसा प्रक्रियामा जान पनि आदेश दिइएको छ । 

नेपालमा विदेशीले १५ दिनको ३० अमेरिकी डलर, ३० दिनको ५० र ९० दिनको १ सय २५ डलर शुल्क तिरेर पर्यटक भिसामा आउन पाउँछन् । निर्धारित समयभन्दा बढी समय बसेमा दिनको ३ अमेरिकी डलर थप तिर्नुपर्ने हुन्छ ।

नेपालले भिसा समकक्षिता कायम गर्न अमेरिकी नागरिकलाई पाँचवर्षे बहुप्रवेशी भिसाको पनि व्यवस्था गरेको छ । तर, यस्तो भिसा लिए पनि एक वर्षमा बढीमा ६ महिना मात्र बस्न सकिने प्रावधान रहेको छ। 

प्रकाशित मिति: : 2019-09-22 21:54:26

प्रतिकृया दिनुहोस्