उपत्यकामा तरकारीको मूल्य हप्ता दिनमै आकासिएको छ। व्यापारीले वर्षाको कारण देखाउँदै तरकारीको मूल्य बढाएका हुन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्तामा तरकारीको मूल्य ८६ प्रतिशतसम्म बढेको छ। गत आइतबार (भदौ २९) को तुलनामा अधिकांश तरकारीको मूल्य बढाइएको छ। उपभोक्ताको भान्सामा नियमित पाक्ने तिते करेला, बोडी, भिन्डी, फर्सी, गोलभेडा, लौका, परवर, घिउसिमी, प्याजलगायत तरकारीको मूल्य बढेका छन्।
यो हप्ता तिते करेलाको मूल्य सबैभन्दा बढी ८५.७१ प्रतिशतले बढेको छ। गत आइतबार ४२ रुपैयाँ प्रतिकेजी रहेको तिते करेलाको मूल्य आज ७८ रुपैयाँ पुगेको हो। बोडीको मूल्य प्रतिकेजी ५८ रुपैयाँबाट बढेर ९८ रुपैयाँ कायम भएको छ। बोडीको मूल्य ६८.९७ प्रतिशत अर्थात ४० रुपैयाँले बढी हो।