सन् २००७ सालको 'नेपाली तारा सिजन २' को टाइटल जितिसकेपछि गायक सन्तोष लामाको जीवनमा एकाएक धेरै परिवर्तन आयो। टाइटल जितेपछि उनी केही दिनसम्म त अलमलमा परे। आफ्नो जीवनमा के भइरहेको छ छुट्ट्याउन सकिरहेका थिएनन्। नर्मलबाट उनको लाइफ सेलेब्रेटीझैँ भएको थियो। १२ वर्षअघि नै नेपाली ताराको टाइटल जितेका सन्तोष लामा केही दिनअघि जाउलाखेलको 'क्याफे कफी डे' मा भेटिए।
छोटो भेट घाटमा सन्तोषले त्यो बेलाको आफ्नो अनुभव सुनाउँदै भने 'नेपाली ताराको विजेता भएपछिका मेरा दिनहरू निकै फरक थिए। नेपाली तारा जितेको एक दुई वर्षसम्म त मलाई निकै रमाइलो भयो। कसैले कन्सर्टको लागि बोलाउनु हुन्थ्यो त कसैले रेकर्डिङको लागि बोलाउनु हुन्थ्यो। नर्मल लाइफबाट सेलिब्रेटीझै भइएको थियो। बाटोमा हिँड्दा पनि मानिसहरूले नेपाली तारा भन्दै नोटिस गर्थे।’