बाबर हायातले पनि हङकङको राष्ट्रिय टिबाट आफ्नो नाम फिर्ता लिएका छन्।
नियमित कप्तान अंशुमन रथले हङकङ टिमबाट नखेल्ने निर्णय गरेको १ साता नबित्दै अर्का हायातले पनि हङकङ टिमबाट नखेल्ने निर्णय गरेका हुन्।
हङकङका पूर्वकप्तानसमेत रहेका हायातले आगामी महिना युएईमा आयोजना हुने टी-२० विश्वकप छनोटबाट आफ्नो नाम फिर्ता लिएको जानकारी दिएका छन्।
हायातसँगै तिब्र गति बलरद्वय एहसान नवाज र तन्भिर एहमदले पनि तत्काल लागू हुने गरि क्रिकेट हङकङसँगको अनुबन्ध रद्द गरेका छन्।
इमर्जिंङक्रिकेटका अनुसार हङकङका पूर्व कप्तान तथा नियमित क्रिकेटर तन्भीर अफजललाईलाई टी-२० विश्वकप छनोट टिममा नराखी अतिरिक्त खेलाडीको सूचीमा राखेपछि अफजललाई टिममा समावेश गर्न हायात, नवाज र एहमदले प्रशिक्षक ट्रेन्ट जोन्सनसँग माग गरेका थिए।
अफजललाई टिममा राख्न उनीहरुले प्रशिक्षक जोन्सनलाई अल्टिमेटमनै दिएका थिए र उनलाई नराखे आफू ३ जनाले पनि नखेल्ने धम्की दिएका थिए। सोही अनुसार उनीहरुको माग पुरा नभएपछि टिमबाट नाम फिर्ता लिएको समाचारमा जनाइएको छ।
तीन सातादेखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका पूर्व आयरल्याण्ड क्रिकेटरसमेत रहेका जोनसनले क्रिकेट हङकङसँग सल्लाह पछि विद्रोही खेलाडीलाई टिममा समावेस नगर्ने निर्णय गरेका हुन्।
एहसान नवाज, तन्भिर एहमद र तन्भिर अफजलले हङकङ क्रिकेटसँगको सम्झौता रद्द गर्दै छनोटबाट अधिकारिक रूपमै बाहिरिएका छन्। बाबर हायात भने सम्झौतामा रहेका थिएनन्।
सन् २०१४ मा हङकङका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका हायातले २२ एकदिवसीय अन्तर्राष्ट्रिय, २४ टी-२० अन्तर्राष्ट्रिय र ६ प्रथम श्रेणी खेल खेलेका छन्।
यस्तै एहसान नवाजले १२ एकदिवसीय र ५ टी-२०, तन्भिर एहमदले ६ एकदिवसीय र ५ टी-२० खेलेका छन् तथा तन्भिर अफजलले २० एकदिवसीय र २१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।
टी-२० विश्वकप छनोटअघि हङकङले नेपालसहित ५ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्नेछ। सिरिज अन्तर्गत हङकङले पहिलो खेल नेपालसँग अक्टोबर ६ तारिकमा खेल्दैछ।