राजविराज– ६५ वर्षअघिको कोशी सम्झौता कार्यान्वयन गर्न माग गर्दै सप्तरी, सुनसरी र उदयपुरका किसानहरु कोशी ब्यारेजको पूर्वी कन्ट्रोल रुम अगाडि एक महिनादेखि रिले अनसन बसेका छन्। तर, सरकार र सम्बन्धित निकायले उनीहरुको माग सुनुवाइ गरेको छैन। सप्तकोशी नदीमा पुल निर्माणका कारण कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ। सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको रिले अनसनमा दैनिक १० देखि २० जना किसान सहभागी हुन्छन्। आज (आइतबार) एक महिना पूरा हुँदा करिब ६ सय किसान रिले अनसनमा सहभागी भइसकेका छन्।
अनसन स्थलमा आउने–जाने र भेट गर्ने सर्वसाधारणको हिसाब हुन छोडिसक्यो। तर, किसानको आन्दोलनप्रति समर्थन र सद्भाव भने बढ्दै गएको छ। विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि तथा समर्थक र शुभचिन्तकहरु अनसन स्थलमा पुग्छन्, सकेको सहयोग गर्छन् अनि उत्साह थप्छन् र फर्किन्छन्। तर, रिले अनसनले एक महिना पार गर्दासमेत सरकारका तर्फबाट किसानको आन्दोलनका बारेमा खोजखबर समेत भएको छैन। सम्झौतामा उल्लेख भएको कुरा माग गर्दा समेत सरकारले सौतेलो व्यवहार गरेको भन्दै किसानहरु चिन्तित छन्।