बाराको एक घरमा रहस्यमयी तरिकाले दुई सातादेखि आगलागी, स्थानीय भन्छन्- देउता रिसाए

तस्बिरः बिमला गुप्ता

बाराको एक घरमा रहस्यमय तरीकाले दुई सातादेखि आगलागी भईरहेको घटना सार्वजनिक भएको छ।

महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोल निवासी विरेन्द्र यादवको घरमा विगत १५ दिनदेखि रहस्यमयी तरिकाले प्रत्येक दिन आगलागी हुने गरेको घटना सार्वजनिक भएको छ।

प्रत्येक दिन घरमा आगलागी भए पनि त्यसबाट धनजनको क्षति नहुने र आगो तत्काल स्थानीयले नियन्त्रणमा लिने गरेका छन्।

रहस्यमयी तरिकाले आगोको झिल्को निस्कने र त्यसबाट आगलागी हुने क्रम बढेपछि घर छोडेर बाहिरै बस्न थालेको पीडित यादवले बताए।

देउता रिसाएको र नाग देउताको कारण हरेक दिन घरमा आगलागी हुने स्थानीयले दाबी गरेका छन्।

१५ दिन अगाडि यादवको घरमा अचानक कालो सर्प देखिएको र उक्त सर्प घर भित्रकै मुसाको दुलोमा पसेपछि सर्प मार्न दुलोमा आगो लगाएकाले त्यसपछि नियमित घरमा आगोको झिल्को निस्किने गरेको पीडित यादवले बताए।

देवता तथा नाग रिसाएकाले दिनहुँ आगलगी हुने गरेको भन्दै यसको निराकरणका लागि धामी, झाँक्रीलगाउनुका साथै पूजा गरे पनि आगलगीको घटना बन्द नभएको यादवले गुनासो गरे।

उनले धामी, झाँक्रीले पनि आफूलाई उल्टै ठगेको बताए।

यता प्रहरी चौकी गन्जभवानीपुरका प्रहरी नायब निरीक्षक विरेन्द्र गिरीले यादवको घरमा पटक पटक आगलागी हुने र निभ्ने गरेको घटना आफूले पनि थाहा पाएको बताए। उनले घटनाको कारण अहिलेसम्म नखुलेकाले यसको कारण पत्ता लगाउने कोशिश भइरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-12 13:33:55

प्रतिकृया दिनुहोस्