क्यानेडियन बसमा ‘भिजिट नेपाल २०२०’

क्यानडामा भिजिट नेपाल २०२० को प्रवर्द्धनमा जुटेका पर्यटनदूत नरबहादुर टण्डन । तस्बिर : बीएल

बीस लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसाथ घोषणा गरिएको ‘भिजिट नेपाल– २०२०’ को क्यानडामा पनि प्रचार गरिएको छ । भ्रमण बर्ष सुरु हुने दिन नजिकिँदै गर्दा टोरन्टो निवासी नेपालीमूलका एक व्यवसायीले सार्वजनिक बसमार्फत क्यानडामा ‘भिजिट नेपाल–२०२०’ को प्रचार गरेका हुन् ।  

लामो समयदेखि टोरन्टो बस्दै आएका ट्रक व्यवसायी नरबहादुर टण्डनको सक्रियतामा मिसिसागा र ब्राम्प्टन क्षेत्रमा चल्ने १० वटा बसमा ‘भिजिट नेपाल–२०२०’ को प्रचार गरिएको हो । नेपाल घुम्न निम्तो गरिएका फ्लेससहित ती बस अबको केही महिनासम्म यहाँ गुड्नेछन् । मिसिसागा र ब्राम्प्टनमा नेपालीमूलका धेरै मानिसको बसोबास छ ।



क्यानडामा आफूले ड्राइभ गर्ने ट्रकको भित्तामा यसैगरी नेपाल चिनाउने सामग्री राखेर टण्डन पहिल्यैदेखि नेपाली मिडियामा छाउने गरेका थिए । क्यानेडियन नागरिकलाई नेपाल घुम्न प्रेरित गर्ने उद्देश्यले टण्डनले यसपल्ट पनि आफ्नै खर्चमा यताका बसमा प्रचार सामग्री राखेका हुन् ।

नेपाल पर्यटन तथा व्यापार मञ्चका तर्फबाट रिभरउड कन्जरभेन्सी पार्कमा शनिवार आयोजित एक कार्यक्रममाझ अन्टारियो प्रोभिन्सियल पार्लियामेन्ट मेम्बर दीपक आनन्द र टण्डनले क्यानेडियन बसमा ‘भिजिट नेपाल–२०२०’ अंकित प्रचार सामग्री राखेका हुन् । टण्डन आयोजक संस्थाका अध्यक्ष हुन् ।



मातृभूमि नेपालको पर्यटन विकासका लागि लामो समयदेखि क्यानडामा प्रचार प्रसार अभियानमा संलग्न हुँदै आएका टण्डनले यसपल्ट पनि नेपाली सरकारी निकायको सहयोगबिनै ‘भिजिट नेपाल–२०२०’ अभियानलाई सघाएको जनाएका छन् । टण्डन क्यानडाका लागि ‘नेपाली पर्यटन दूत’ हुन् ।

दाङमा जन्मेहुर्केर डेढ दशकदेखि क्यानडा बस्दै आएका टण्डनको विदेशमा नेपाल चिनाउने प्रयासलाई सबैले प्रशंसा गर्दै आएका छन् । महाभूकम्पपछि सुस्ताएको नेपाली पर्यटनलाई टेवा दिने उद्देश्यले नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल–२०२०’ कार्यक्रमताका कति क्यानेडियन नेपाल घुम्न जान्छन्, त्यसको लेखाजोखा गर्न भने समय लाग्नेछ ।

प्रकाशित मिति: : 2019-09-08 07:20:38

प्रतिकृया दिनुहोस्