सुन्दैछु, गृहको बजेट घट्दैछ रे त्यसो नगरौं : गृहमन्त्री थापा

तस्बिरः बिएल

गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको बजेट बढाउनुपर्ने बताएका छन्।

मंगलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा भएको छलफलमा गृहमन्त्री थापाले यो वर्ष गृहमन्त्रालयको बजेट सिलिङ घटाइएको भन्ने सुनिएको भन्दै त्यसो गर्न नहुने बताएका हुन्।

बजेटमा कमी हुनाे बित्तिकै शान्ति सुरक्षामा असर पर्ने भन्दै गृहको बजेट घटाउन नहुने उनको भनाई थियो।

विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्न अनिवार्य रहेको मन्त्री थापाको भनाई छ।

विगतको कामको समीक्षा गरेर नयाँ बजेटमा सोहीअनुसार बजेटको खाका बनाउन समेत मन्त्री थापाले आफू मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

नयाँ बजेटमा प्रहरीलाई आधुनिकिरकण गर्न तथा स्रोत साधन सम्पन्न बनाउन आवश्यक रहेको भन्दै मन्त्री थापाले त्यसमा गृहमन्त्रालय गम्भीर भएर लागिपरेको समेत बताए।

छलफल बैठकमा गृहमन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो बजेटको मागबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2019-04-23 19:00:32

प्रतिकृया दिनुहोस्