चोरबाटोबाट आउने र पुराना गहना बिक्रीले धान्दै सुनको माग, बैंकले ल्याएको सुन बिक्री भएन

चोरबाटो  (अवैध) ररूपमा आउने सुन र पुराना गहना बिक्रीले बजारको माग धानिरहेको छ। अत्यधिक मूल्य वृद्धि भएका कारण बैंकले ल्याएको सुन बिक्री भएको छैन।

सुनको मूल्य उच्च भएपछि पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो लाग्दै आएको छ भने नयाँ बिक्री हुन छाडेको छ।

अवैध बाटोबाट आउने सुन र पुरानो गहनाले बजारको माग धानिरहेकोले बैंकले ल्याएको सुन बिक्री नभएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले बताए। ‘सुन बिक्री नभएका कारण बैंकले ल्याउन छाडेका छन्,’ उनले भने, ‘बैंकले यसअघि ल्याएको सुन पनि बिक्री नभएर थुप्रिएको छ।’

केही महिनाअघि प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुन बढेर ७२ हजार पुगेपछि सुन बिक्री गर्ने बढेका हुन्। सुन किन्न आउनेभन्दा बिक्री गर्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार शाहले बताए। ‘सुनको मूल्य बढेको बेलामा बिक्री गर्दा फाइदा हुने भएकाले बिक्री गर्न आउने बढेको हुन्,’ उनले भने, ‘कतिपय भने पैसा अभावले पुरानो सुन बिक्री गर्न आउँछन्।’

सुन महँगो भएका कारण यसपालीको तीजमा गत वर्षको तुलनामा कम सुन बिक्री भएको व्यवसायी बताउँछन्। तीजको समयमा सुन किन्नेभन्दा बिक्री गर्ने बढेको सुन व्यापारीको भनाइ छ।

सुन बेच्न आउने अत्याधिक बढेकाले धेरैलाई सम्झाइ–बुझाइ गरेर फकाइएको व्यवसायी बताउँछन्। बिक्री गर्न बाध्य भएकालाई व्यवसायीले २ बजेपछि आउनु भन्दै फर्काउने गरेका थिए। सामान्यतया १० बजे सुन पसल खुल्ने गर्छ। त्यसपछि बैंकबाट पैसा ल्याउँदा १२–१ बज्ने भएकाले पनि २ बजेपछि आउनुस् भन्ने गरिएको शाहले बताए।

नागरिकले ढिक्का सुनभन्दा पनि बनाएका सुन किन्ने भएकाले त्यही सुन बिक्री गर्न आउने गरेको व्यापारीको भनाइ छ।

प्रकाशित मिति: : 2019-09-03 14:37:15

प्रतिकृया दिनुहोस्