काठमाडौं- हजुरबुवा मारुनी नाच्थे। गाउँको सांस्कृतिक परिवेशमा हुर्किएका सञ्जय काउछालाई पनि सानैदेखि गीतसंगीतमा चाख बस्यो। विद्यालयमा हुने नाटक तथा सांस्कृतिक प्रतिस्पर्धाबाट उनले प्रतिभा बढाउन अवसर पाए। हजुरबाको प्रभावले नारीको भूमिकामा प्रस्तुति दिने उनले वाहवाही बटुलिइरहे।
साबिक लुम्बिनी अञ्चलका पहाडी जिल्लामा लोकदोहोरी गीतको हालीमुहाली अझै पनि छ। सांस्कृतिक परम्परामा लोकदोहारी नै घन्किन्छन्। मगर समुदायको बाहुल्य रहेका स्थानमा रोधी बस्ने प्रचलन बढी थियो/छ। गुल्मीस्थित साबिकको हाँडहाडे (हाल धुर्कोट) को मगर समुदायमा जन्मेका काउछालाई त्यही प्रभाव पर्यो।
चालीसको मध्य दशकतिर खुबै प्रचलित ‘चौतारीमा मै बसे होला कि’, ‘माछी मार न’ जस्ता गीतमा उनले दर्जनौं नाच देखाए। नाच्ने क्रममै नाटकहरुमा सानो भूमिकामा पनि उनी देखिन थाले। नृत्य, नाटक र साहित्यमा उनको जग विद्यालय स्तरबाटै विकसित भयो।
पहाडी जिल्लाबाट तराई झर्ने लहर चलेका बेला उनको परिवार २०४५ सालमा रुपन्देही झर्यो। पहाडमा खुम्चिएको उनको प्रतिभाले सडक नाटकबाट बुटवलमा फस्टाउने अवसर प्राप्त गर्यो। सडक नाटकबाट उनलाई अझै विस्तारित हुन रहर जाग्यो । अनि सानो पर्दाका टेलिफिल्ममा काम गर्न लागे। ग्लामरको क्षेत्रमा झुकाव तथा लगावले गर्दा उनलाई सानो पर्दामा देखिन कसैको आड लिनुपरेन।
स्थानीय केबलबाट प्रसारण गर्ने गरी ‘त्याग’ टेलिसिरियल उनकै अगुवाइमा निर्माण भयो। अफसोस, प्रसारण हुन सकेन। व्यवासायिक जीवनमा प्रवेश नगरेका उनले ‘त्याग’लाई दिएको समय सोखकै रुपमा सीमित हुन पुग्यो।
मगर समुदायमा आधारित सामाजिक कथावस्तुको फिल्म बनाएपछि उनको दायरा फराकिलो बन्दै गयो। म्युजिक भिडियोतिर उनका पाइला लम्किए। लेखन र निर्देशनसँगै रजतपटमा रमाउनका लागि उनी काठमाडौं हान्निए।
फिल्म क्षेत्रको सैद्धान्तिक र व्यावहारिक ज्ञान बढाउन २०६२ सालमा काठमाडौं आएका उनलाई राजधानीले पनि न्याय दिन सकेन। फिल्म लेखन, निर्देशन र प्रावधिक पक्षको ज्ञान बटुल्ने अथाह इच्छा लिएर आएका उनले ओस्कार कलेजमा भर्ना पाएनन्। ओस्कार कलेज बढ्न उनको आर्थिक हैसियत पुगेन। फिल्मका विविध पक्षबारे ज्ञान लिने चाह धुलिसात भयो। तनाव चुलिँदै गयो।