तोलाछेँस्थित 'विश्वकर्मा भैल प्याखँ खलः' को आफ्नै द्यः छेँ (भगवान घर) थिएन। कहिले यो चोक, त कहिले त्यो गर्दै नाच प्रशिक्षण जारी रह्यो। मल्लकालदेखिको भैरव नाच जोगियो, परम्परा जीवित रह्यो।
आफ्नै द्यः छेँ नहुँदा प्याखँ खलः ले भोग्नुपर्ने समस्या त कति थिए कति। कहिले बाजागाजा त कहिले लुगा चोरी हुने। आ–आफ्नो घरमा राख्दा राम्रो स्याहार नपुग्ने। ०७१ सालदेखि आफ्नै घर बन्ने प्रक्रिया सुरू भएपछि केही सजिलो भएको प्याखँ खलः को अनुभव छ।
यो द्यः छेँको विशेषता के भने, यसको बाहिरी मोहडामा टेराकोटा इँट्टाका कलात्मक आकृति छन्। ती आकृतिले भक्तपुरको सभ्यता चित्रण गर्छन्।
कला, सँस्कृति र सभ्यताका हिसाबले भक्तपुर आफैंमा संग्रहालय हो। मूल चोकमा भुइँचालोपछि बनेका संरचना अहिले प्राचीन शैलीमै ठडिइरहेका छन्। यो घरलाई त्यस संग्रहालयभित्रको अर्को आकर्षण बनाउने उद्धेश्य रहेको प्याखँ खलः का अध्यक्ष कृष्णभक्त प्रजापति बताउँछन्।
'यस्तो घर अन्त कतै छैन। यसलाई नमूना घरका रूपमा स्थापना गराउने सोच छ,' उनले भने।
करिब साढे ३ तला बन्ने यो घरको पहिलो तलामा मात्रै टेराकोटाका कलात्मक इँट्टा हाल्ने काम सकिएको छ। ती इँट्टामा कोही माटोका भाँडा बनाइरहेका, सुकाइरहेका, पोलिरहेका त कोही त्यसलाई बेच्न लगिरहेका छन्। यसैगरी, कोही चर्खामा काम गरिरहेका, बाजा बजाइरहेका त कोही रक्सी पारिरहेका।
यी दृश्य एकाएक यही घरमा कुँदिएका होइनन्। भक्तपुरका गल्लीगल्लीमा देखिने परम्परागत शैलीका संकेत हुन्। समाजका यिनै गतिविधिका दृश्य कलात्मक बुट्टामा भर्ने सोचको प्रतिफल हो यो घर।
टेराकोटा उच्च तापक्रममा पोलिएको इँट्टा हो। पाटनको दस हजार बुद्ध भएको महाबुद्ध मन्दिर यस्तै कलाको उदाहरण हो। तुछिमलास्थित टेराकोटा झ्याल भएको 'टेराकोटा होटल' भक्तपुरमा प्रसिद्ध छ। यो घरमा भने सबै भागमा टेराकोटा बुट्टा कुँदिनेछन्।