जहाँ चेतना साँघुरो छ, राजनीतिकरुपमा सचेत मान्छेहरू कम छन्, त्यस्तो ठाउँमा ‘मास मुभमेन्ट’ कठिन हुन्छ । शान्तिपूर्ण आन्दोलनले गति लिन सक्दैन ।
क्रान्तिका विभिन्न रुपमध्ये सशस्त्र क्रान्ति सबैभन्दा उच्च रुप हो । तर, त्योभन्दा अगाडि सामाजिक सुधार, राजनीतिक आन्दोलन, अनसन, आमसभाजस्ता शान्तिपूर्ण आन्दोलनका विभिन्न स्वरुप हुन्छन् । सबै उपाय लगाउँदा पनि नभएपछि मात्रै आन्दोलनको सशस्त्र विकल्प रोजिन्छ ।
समाज परिवर्तनका लागि सत्तासँग भएको बन्दुकसँग लड्न अन्य विकल्प बाँकी छैन भन्ने भइसकेेपछि मात्र त्यस्तो बाटोमा जानुपर्ने हुन सक्छ । तर, हिंसात्मक आन्दोलन कहिले गर्ने र शान्तिपूर्ण आन्दोलन कहिले गर्ने भन्नेमा प्रायः द्विविधा भइरहन्छ ।
नेपालमा नेपाली कांग्रेसजस्तो पुँजीवादी पार्टीले पनि बन्दुक बोकेको इतिहास छ । भारतमा बसेर आन्दोलन गरिरहेका कांग्रेसका नेताहरूले राणा शासन ढाल्न सशस्त्र गतिविधि आन्दोलन आवश्यक छ भन्ने लागेपछि त्यो बाटो रोजेका थिए ।
यहाँहरुलाई थाहा छ, म आफंै सशस्त्र क्रान्तिमा लागेको मान्छे । यसो हेर्दा सशस्त्र आन्दोलन निकै जोखिमपूर्ण देखिन्छ । अर्को तरिकाबाट हेर्दा भने यो सजिलो आन्दोलन पनि हो । किनभने, यसमा धेरै मान्छे परिचालन गर्नुपर्दैन । मर्ने-मार्ने जोखिम हुन्छ, तर जनआन्दोलनमा जस्तो मास परिचालन गर्नुपर्दैन ।
बहुदल आउनुअघि हाम्रो पार्टीमा एक हजार सदस्य थिए । त्यसमा पनि पूर्णकालीन त पाँच/छ सय जति मात्र । बहुदल आएलगत्तै हजार जनाको पार्टी सदस्यता पचास हजार पुर्यायौं । मनमोहन अधिकारीसँग एकता हुँदा हाम्रो पार्टी सदस्यता ७० हजार पुगेको थियो ।
विसं. ०१७ सालमा पञ्चायत शुरु भएपछि दल खोल्नुलाई नै अपराध मानिन्थ्यो । सामाजिक संस्थासमेत खोल्न प्रतिबन्ध थियो । टंकप्रसाद आचार्यजस्तो राजा आफैंले पत्याएर प्रधानमन्त्री बनाएको व्यक्तिलाई समेत समाज सुधार संघ खोल्न दिइएन ।