हिन्दूबारे आपत्तिजनक टिप्पणी गर्ने पाकिस्तानी मन्त्री पदमुक्त

हिन्दू धर्मावलम्बीबारे आपत्तिजनक अभिव्यक्ति दिएका पन्जाब प्रान्तका सूचना तथा संस्कृतिमन्त्री फैयाज अल हसन चौहान। तस्बिरः@GOPUNJABPK

हिन्दू धर्मावलम्बीबारे आपत्तिजनक अभिव्यक्ति दिएका एक पाकिस्तानी मन्त्री पदमुक्त भएका छन्।

पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृतिमन्त्री फैयाज अल हसन चौहानले मन्त्री पद गुमाएका हुन्।

हिन्दु धर्मावलम्भीबारे अभिव्यक्ति दिएपछि मुख्यमन्त्री सरदार उस्मान बुजदारले चौहानलाई बोलाएका थिए। त्यसपछि चौहानले राजीनामा दिएका थिए।

यसैबीच प्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले 'हिन्दू समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेको भन्दै पन्जाब सरकारद्वारा उनी पदमुक्त गरिएको' जानकारी दिएको छ।

मुख्यमन्त्रीले एक विज्ञप्ति जारी गर्दै इमरान खान नेतृत्वको दललाई कुनै पनि किसिमको भेदभाव सह्य नहुने स्पष्ट पारेको छ।

मन्त्री चौहानले हिन्दूहरूलाई ‘गाईको मुत्र पिउनेहरू’ भन्दै भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए।

मन्त्री चौहानको यस्तो अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि उनको ब्यापक आलोचना भएको थियो।

मन्त्रीको अभिव्यक्ति पछि पाकिस्तानमा सामाजिक सञ्जालमा #SackFayazChohan र #Hindus ट्रेन्डिङमा थिए।

समाजिक सञ्जालसँगै पीटीआई पार्टीका नेताहरूलेसमेत मन्त्री चौहानको चर्को आलोचना गरेका थिए।

फेब्रुअरी २४ मा लहोरमा आयोजित एक कार्यक्रममा चौहानले उक्त विवादास्पद धारणा व्यक्त गरेका थिए। तर, त्यसको भिडिओ एक सातापछिभाइरल भएको थियो।

प्रधानमन्त्री इमरान खानका राजनीतिक मामिला सल्लाहकार नईमुल हकले जो सुकै व्यक्ति भएपनि आफूहरूलाई यस्तो अभिव्यक्ति सह्य नहुने बताएका थिए। ट्वीट गर्दै उनले भनेका थिए- चाहे सरकारकै वरिष्ठ सदस्य वा अरू कोहीले गरून्, यस्ता कुरा पीटीआईको निम्ति सह्य हुँदैन।

‘हिन्दू समुदायविरूद्ध पन्जाबका सूचना मन्त्री फैयाज चौहानको अपमानजनक भनाइलाई लिएर कडा कारबाही हुनुपर्छ। मुख्यमन्त्रीसँग सल्लाह लिएपछि उनीमाथि कारबाही गरिनेछ,’ उनले भने।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तानको झन्डामा जसरी गर्वका साथ हरियो रङ्ग सामेल छ, त्यहीँ गर्वका साथ सेतो रङ्ग पनि रहेको भन्दै त्यसले हिन्दू समुदायको योगदानको सम्मान गर्ने र उनीहरूलाई आफ्नो मान्ने बताएका छन्।

यस्तै मानवाधिकार मामिलामन्त्री शिरीन मजारीले पनि कसैको धर्ममा आक्रमण गर्ने अधिकार कसैसँग पनि नरहेको भन्दै चौहानको भनाईप्रति आपत्ती जनाएकी छन्।

यसैबीच हिन्दू सामाजिक कार्यकर्ता कपिल देवले ट्वीट गर्दै हामीलाई पाकिस्तानप्रति आफ्नो माया र देशप्रेम देखाएको उत्तरमा पीटीआईका मन्त्री फैयाज चौहानबाट ४० लाख हिन्दूहरू रहेको कुरा ख्याल नै नगरेर 'गाईको पिसाब पिउने' भनेर हिन्दूहरूप्रति अपमानजनक शब्द प्राप्त भएकोमा सरकारको ध्यानाकर्षण गरेका थिए।

यता विपक्षी दल मुस्लिम लीग नवाजका नेता ख्वाजा आसिफले मन्त्री चौहानको अभिव्यक्ति अभद्र भएको भन्दै पाकिस्तान धार्मिक रङ्ग र जातको विभाजनबिना २२ करोड जनताको देश भएको स्मरण गराएका छन्।

गत महिना भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमण हुँदा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। भारतले उक्त घटना पाकिस्तानले गराएको आरोप लगाएको छ। त्यसयता भारत पाकविवाद चुलिएको हो।

सन् १९४७ मा पनि धर्मकै आधारमा विभाजित भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर फेरि विवाद सुरू भएको हो। यद्यपी उनीहरूले दुवैले काश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: : 2019-03-06 20:38:55

प्रतिकृया दिनुहोस्