भेनेजुयला सङ्कटः सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा

एजेन्सी

भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् ।

सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ। गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ह्वाँ गुएइदोले देशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको चरम अभाब भएका कारण सहयोग भित्र्याउन आफ्ना समर्थकलाई आग्रह गरेका छन्।

राष्ट्रपति मदुरोद्वारा काराकासमा समर्थकलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा भएका झडपलाई युद्व भन्न नसकिने बताएका छन्।

मदुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुयलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै विदेशी सामग्री भित्रिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘मैले कोलम्विया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुयलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुयलाबाट फर्किउन्,’ मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडिएकोबारे भने।

सहयोगस्वरूप आएको सामग्री भित्राउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भित्राउने क्रममा झडप भएको हो। झडप कोलम्बिया र ब्राजिल क्षेत्रमा चार जनाको मृत्यु भएको र करिब ३०० जना घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन्। अश्रुग्यासको प्रभावका कारण कतिपय आन्दोलनकारीको आँखाको ज्योति गुमेको भन्ने खबरहरू पनि आएका छन्।

सीमा क्षेत्रमा हिंसा बढेपछि राष्ट्रपति मदुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको छ । राष्ट्रपति माधुरोले सहायता सामाग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गर्न निर्देशन दिएका छन्।

भेनेजुयला र कोलम्बियाको सीमा क्षेत्रका केही यस्ता तस्वीरहरु सार्वजनिक भइरहेका छन् जसमा सुरक्षाकर्मीहरुले स्वयंसेवकहरुमाथि अश्रुग्यास प्रहार गरेका छन् ।

यस्तै प्रदर्शनकारीले चौकी, सुरक्षाकर्मी र दंगा नियन्त्रक प्रहरीमाथि ढुंगामुढा गरेका छन्। यो तनावको बीच भेनेजुयला र कोलम्बियाको सिमानामा तैनाथ भेनेजुयलाका केही सैनिकले चौकी छोडेर भागेको कोलम्वियास्थित मानवअधिकारवादी समूहहरूले बताएका छन्।

कोलम्बियाको सीमामा रहेको एउटा पुलमा मदुरोका समर्थकले अवरोध सिर्जना गर्दै खाद्यान्न र औषधि बोकेका दुई ठूला ट्रकमा आगो लगाइदिएपछि अन्य चार त्यस्ता ट्रक भने कोलम्बियातर्फ नै फर्कन बाध्य भएका बताइएको छ।

गुएइदोले शनिवारबाट दशौं हजार स्वयंसेवकका सहायताले देशमा खाद्य तथा औषधिजन्य सहायता भित्राउने बताए पनि सेनाको कडा निगरानीले यो लगभग असम्भब बनेको छ।

गुएइदोले सरकारविरोधी अभियानमा ’दुर्लभ साहस’ देखाएको भन्दै सामाजिक सञ्जालमा आफ्ना समर्थकहरूको प्रशंसा गरेका छन् ।

यसैबीच भेनेजुयलालाई सहयोग गरेको रूसले समेत मदुरोलेझैँ अमेरिकी उक्त राहतलाई सैन्य अतिक्रमण गर्ने ‘सहज र कपटपूर्ण’ बाटो भनेको छ । देशमा संकट रहेको स्वीकार नगरे पनि गत साता मदुरो सरकारले रुसबाट ३०० टन सहायता भेनेजुएला भित्र्याउने घोषणा गरेको थियो ।

प्रकाशित मिति: : 2019-02-25 09:56:44

प्रतिकृया दिनुहोस्