राजनीतिक पार्टीहरुको एउटा सामान्य विशेषता हुन्छ। प्रत्येक पार्टीले आफूँसँग युगबोध भएको दाबी गर्दछन्।
उनीहरुसँग एउटा विचारधारा हुन्छ। मूलतः उनीहरु सत्ताका निमित्त प्रयत्नशील एवं संघर्षशील रहन्छन्। तर, कुनै पनि पार्टीले मैले सत्ताका निमित्त सत्ता खोजेको भन्दैन। प्रत्येक पार्टीको दाबा हुन्छः यस समाजलाई, राष्ट्रलाई केही परिवर्तनको खाँचो छ र त्यो परिवर्तन गर्ने बाटो हामीसँग छ।
त्यो हाम्रो बाटोका निमित्त हामीलाई भोट दिनुहोस्, हामीलाई सत्तामा पुर्याउनुहोस्। तब हामीले भनेजस्तै, हामीले बुझेजस्तै र बुझाएजस्तै समाजलाई बदल्छौँ।
केही गम्भीर पार्टीहरु त अझ अगाडि बढ्छन्। उनीहरुलाई युगवोध भन्ने शब्दले पुग्दैन, विचारधारा भन्ने धारणाले पनि पुग्दैन र आफूँसँग ‘वाद’ भएको दाबी गर्दछन्।
त्यही सिलसिलामा अनेकौँ वादहरुको नामाकरण भएको छ। नयाँ वादहरुको श्रृजना भएको छ। सिंगो २०औं शताब्दीमा साम्यवाद, पूँजीवाद, प्रजातान्त्रिक समाजवाद, फाँसीवाद, नासीवाद जस्ता वादहरु चलिरहे।
अहिले नेपालमा राजनीतिक पार्टीहरु छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालमा साम्यवाद–समाजवाद स्थापित गर्न चाहन्छ।
नेपाली कांग्रेस साम्यवादको कुरै गर्दैन तर, उ पनि समाजवाद भने चाहन्छ। उसले आफ्नो समाजवादमा प्रजातान्त्रिक भन्ने विशेषण लगाएको छ। त्यसैले कांग्रेसको वादको नाम छः प्रजातान्त्रिक समाजवाद। नेकपाको वादको नाम छः साम्यवाद–समाजवाद।
बी.पी. कोइरालालाई सम्झिँदा नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादका आदिगुरुका रुपमा लिन्छ। कमसेकम नेपालका निमित्त उनी समाजवादका राष्ट्रिय प्रवर्तक हुन्। पुष्पलाल त कम्युनिष्ट आन्दोलनका संस्थापक नेता भए।
यी दुई नेताको सेरोफेरोमा दुबैको पार्टीले आफ्नो वर्तमान विचारधारा, दूरदृष्टि, युगबोध संचारित भएको दाबा गर्छन्। बेलाबखतमा परिमार्जन पनि हुन्छ। त्यो परिमार्जन सबै इन्कार छैन तर, वाद भने रहेकै हुन्छ।