हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव हुने भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले जानकारी दिए।
हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवर्धन गर्न आयोजित महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए।
महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने छ । महोत्सवमा करिब १० हजारले अवलोकन गर्ने जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले महोत्सवमा २० लाख खर्च लाग्ने अनुमान गरिएको बताए।
उनका अनुसार महोत्सवमा करीब दुई करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ।
हिमाली क्षेत्र र त्यहाँको संस्कृतिले पर्यटकीयरुपमा ठूलो महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए। मुक्तिनाथ यार्तुङ महोत्सवसँगै त्यहाँ हुने विविध सांस्कृतिक कार्यक्रमका साथै साहसिक पर्यटनका खेलका कारण त्यहाँको संस्कृति जगेर्नामा महत्वपूर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।