आगामी अगस्ट १० मा एनआरएन क्यानडाको निर्वाचन हुदैछ । तर, जति जति निर्वाचन नजिकिदैछ, त्यति त्यति नै नेतृत्वको लागि फोहोरी राजनीति पनि सुरू भएको संकेत मिलेको छ ।
यसैक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले र महासचिव चिरञ्जिवी घिमिरेले मोटो रकम लिई संस्थाको लेटरप्याड मानव तस्करलाई बेच्ने गरेको आरोप सहितको समाचार एक अनलाइन पोर्टलमा सार्वजनिक भएको छ । नेपाली कांग्रेसको मुखपत्र मानिने आइतबारे साप्ताहिक देशान्तरको अनलाइन पोर्टलमा आएको त्यो समाचारको अध्यक्ष काफ्ले र महासचिव घिमिरेले खण्डन गरेका छन् ।
उनीहरूले एनआरएन क्यानडाको चुनावलाई प्रभावित पार्न केही निहित स्वार्थ भएका तत्वहरूले नियोजित रूपमा भ्रम छरेको बताउँदै वक्तव्यमा त्यस्तो प्रमाण ल्याउन चुनौति दिएका छन् र प्रमाणित भएमा जुनसुकै किसिमको सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।
उनीहरूले यसबाट आफ्नो चरित्रहत्या भएको बताउँदै त्यस्ता तत्वविरूद्ध कानूनी उपचारको बाटो खोजिसकिएको पनि बताइएको छ ।
राजनीति गर्ने प्रायः भन्छन्– ‘कोभन्दा को कम ।’ यो सिद्धान्तले अहिले ‘एकपल्टको नेपाली सधैं नेपाली’ भन्ने नारा बोकेको संस्था ‘एनआरएनए क्यानडा’ पनि थिलथिलो छ । राजधानी अटोवासहितका १२७ सदस्यले ‘अधिकार हनन् गरी हामीलाई पाखा लगाइयो’ भन्दै मिलनबिन्दु खोजे पनि एनआरएनए क्यानडाको अधिवेशन प्रक्रिया रोकिएको छैन । वर्तमान नेतृत्व ‘थ्रेसहोल्डले तोकेबमोजिम सदस्य नपुगेको’ भन्दै ती १२७ सदस्यलाई तत्कालका लागि ‘बाइकट्’ गरेरै अधिवेशन गर्न लागेको छ ।
निर्वाचनको मुखमा एक राजनीतिक दलको नजिक रहेको समाचार पोर्टलमा नाम बताउन नचाहने स्रोत प्रयोग गरेर लगाइएको यो आरोप र त्यसले सिर्जना गरेको प्रत्यारोपलाई एनआरएनलाई गैरराजनीतिक संस्थाका रूपमा देख्न चाहनेले कति पनि रूचाएका छैनन् । उनीहरूले यसबाट संस्थाको बदनाम हुने भएकाले त्यसो नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण पनि गराएका छन् ।
कांग्रेस निकट पोर्टलमा समाचार आएकाले यसलाई कांग्रेस पक्षधरले नै चुनावलाई प्रभावित गर्न खोजेको कांग्रेसइतर पक्षले आरोप लगाएका छन् । यस कार्यबाट उनीहरूलाई नै घाटा लाग्ने पनि उनीहरूले बताएका छन् । कांग्रेस विचार बोक्ने एनआरएनका सच्चा अनुयायीले यसलाई सही कदम मान्न नसकिने बताएका छन् ।