नेपाल भ्रमण वर्ष- २०२०को पूर्वसन्ध्यामा बढ्यो भिसा शुल्क : नकारात्मक सन्देश प्रवाह

नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ भन्ने तर त्यसको पूर्वसन्ध्यामै भिसा शुल्क बढाउने : यसरी त कसरी होला र ? तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालले भिसा शुल्क बढाएर पर्यटकमाझ नकारात्मक सन्देश सञ्चार गराएको छ । एक डलर भएपनि घटाएर 'भिसा शुल्क घट्यो' भन्ने सकारात्मक सन्देश प्रवाह गराउनुपर्नेमा उल्टै केही डलर बढाएर 'भिसा शुल्क बढ्यो' भन्ने नकारात्मक सन्देश प्रवाह गराउनु निश्चित पनि शुभ संकेत हैन । सरकारको यो निर्णय गलत समयमा आएको र यसले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग नगर्ने पर्यटनविदहरू नै बताउँछन् ।

नेपालले पर्यटकका लागि समय अविधका हिसाबले चार किसिमका 'टुरिस्ट भिसा' जारी गर्दै आएको छ । नेपाल भ्रमण सुरू हुन ६ महिना पनि बाँकि नरहेको बेला ती सबै किसिमका भिसाको शुल्क बढाइएको छ । नयाँ आर्थिक वर्ष सुरू भएको साउन १ गतेदेखि नै भिसा शुल्क बढेको हो ।

अध्यागमन विभागका अनुसार १५ दिने भिसाको शुल्क ३० डलर पुगेको छ । यसअघि सबैभन्दा छोटो समयको यो भिसाको शुल्क २५ डलर थियो । यसैगरी  ३० दिने पर्यटन भिसाको शुल्क पनि बढेर ५० डलर पुगेको छ । यसअघि यो अवधिको भिसाको शुल्क ४० डलर थियो । यस्तै ९० दिने भिसाको शुल्क पनि बढाएर एकसय २५ डलर पुर्याइएको छ । यसअघि यो समयावधिको भिसाका लागि एकसय डलर शुल्क लिइदै आइएको थियो । 

अमेरिकी नागरिकका लागि नेपालले समकक्षताको आधारमा पाँच वर्षे मल्टिपल रिइन्ट्री भिसा पनि दिन सुरू गरेको छ । यस्तो भिसाका लागि कम्तीमा दुई साता लाग्ने र भिसा अस्वीकृत भएमा शुल्क फिर्ता नहुने व्यवस्था गरिएको छ । यो भिसामा जनवरीदेखि डिसेम्बरसम्म एकपटकमा ६ महिना नेपाल बस्न सकिन्छ । तर, पाँचवर्षसम्म एकपटक लिएकै भिसाले काम गर्छ । 

यसैगरी यसअघि १० वर्षसम्मका वालबालिकालाई भिसा शुल्क नलाग्ने ब्यवस्था भएकोेमा अब सबै उमेरका लागि समान शुल्क लाग्ने व्यवस्था  गरिएको छ ।

नेपालले खासगरी अमेरिकासँग समकक्षताका आधारमा नयाँ भिसा शुल्क कायम गरिएको भने पनि यो सही समय हैन । पर्यटनसँग नजिकको साइनो भएकाहरू नेपाल भ्रमण वर्षको मुखमै आएर यसरी भिसा शुल्क बढाइनु कुनै पनि राम्रो नभएको बताउँछन् । 

 

 

प्रकाशित मिति: : 2019-07-27 02:20:36

प्रतिकृया दिनुहोस्