नेपालद्वारा कतारसमक्ष १२३ रनको सामान्य लक्ष्य

तस्बिरः एजेन्सी

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले २८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे ।

नेपालको लागि ओपनिङ गर्न आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे।

छैठौं ओभरको अन्तिम बलमा पारस इनाम उल हकको बलमा आउट भए जस अघि उनले १७ बलमा ४ चौका र १ छक्का मदतले २८ रन बनाएका थिए।

४९ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ओपनिङ साझेदारी समेत हो।

सन् २०१४ टि-२० विश्वकपमा सुबास खकुरेल र सागर पुनले ३६ रनको साझेदारी गरेका थिए।

पारसको विकेट पछि  नेपालले दोश्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई पनि नवौं ओभरमा गुमाउन पुग्यो।

उनले२४ बलमा २३ रन बनाए जुन क्रममा २ चौका र १ छक्का प्रहार गरे।

लगातार विकेट गुमाउने क्रममा शरद भेसावकरलाई पनि सज्जादले ७ रनको स्कोरमा आउट गरे। पाँचौ नम्बरमा आएका सोमपाल कामि पनि ११ रन बनाएर रन आउट हुन् पुगे। बिनोद भण्डारी पनि ७ बलमा ३ रन बनाएर आउट भए।

चौथो नम्बरमा ब्याटिंग गर्दै एक किनार सम्हालीरहेका दिपेन्द्र एरि १९ औं ओभरमा ३४ रन बनाएर नौमन सरवारबाट बोल्ड हुन पुगे। ३५ बलमा उनले १ चका र १ छक्का प्रहार गरे।

करन केसी ( ४ ) , सन्दिप लामिछाने ( ९ ) , बसन्त रेग्मी ( १ ) र अविनाश बोहरा ( १ ) ले पनि तल्लो क्रममा खास योगदान दिन सकेनन्।२० ओभरको चौथो , पाँचौ र छैठौं बलमा नेपालले लगातार ३ विकेट गुमाएको थियो।

२० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाउदै कतारलाई नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गर्यो।

कतारको बलिंगमा इकबाल हुसेनले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ )  लिए। यस्तै तमुर सज्जाद ( ४-०-१४-२ ) र नौमन सरवार ( २-०-१७-२ ) ले २/२ विकेट लिए।

प्रकाशित मिति: : 2019-07-23 09:20:17

प्रतिकृया दिनुहोस्