टी-२० विश्वकप छनोटमा मलेसिया र सिंगापुरको विजयी सुरूवात, भोलि नेपाल र कतार भिड्ने

तस्बिरः एजेन्सी

सिंगापुर । सिंगापुरमा सोमबारदेखि सुरू भएको आईसीसी टी-२० विश्वकप छनोट (एसिया फाइनल) प्रतियोगितामा आयोजक सिंगापुर र मलेसियाले विजयी सुरूवात गरेका छन्।

इन्डियन एसोसिएसन मैदानमा सम्पन्न पहिलो खेलमा घरेलु टोली सिंगापुरले कतारलाई ३३ रनले हराउँदा सोही मैदानमा भएको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले हरायो।

पहिलो खेलमा सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन मात्रै बनाउन सक्यो।

कतारका लागि तमुर सजिदले सर्वाधिक ३४, मोहम्मद रिज्लानले अविजित ३३ रन बनाए पनि टोलीलाई हारबाट रोक्न सकेनन्। सिंगापुरका जनक प्रकाश र अमजद महबुबले समान ३/३ विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो। सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन, टिम डेभिडले ३८ , मनप्रित सिंहले ३४  र रोहन रंगराजनले ३२ रन बनाएका थिए। कतारका लागि इकबाल हुसेनले ४ विकेट लिएका थिए।

मलेसिया

यस्तै आजै भएको दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १६३ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभरमा १२० रन मात्रै बनाउन सक्यो।

कुवेतलाई सस्तोमै समेट्न मलेसियाको लागि मुहम्मद स्याहादतले ३ तथा सयद अजिज, पवनदिप सिंह र फित्री शामले समान २/२ विकेट लिए। कुवेतको लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ५१ रन बनाए पनि हारबाट जोगाउन सकेनन्।

मलेसियाको ब्याटिंगमा शफिक सरिफले सर्वाधिक ३८, सयद अजिजले ३४, अमिनुद्दीन रामलेले ३३, भिरनदिप सिंहले १७ र कप्तानएहमद फैजले १५ रन बनाएका थिए। कुवेत बलर मोहम्मद एहसानले सर्वाधिक २ विकेट लिए।

आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया गरि कुल ५ टिम सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टी-२० विश्वकप ग्लोबल छनोट खेल्न छानिनेछ। सबै टिमले एक-अर्का बिरूद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम छानिनेछ।

नेपालले भोलि आफ्नो पहिलो खेल कतारविरूद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

प्रकाशित मिति: : 2019-07-22 17:19:33

प्रतिकृया दिनुहोस्