कवि श्रवण मुकारुङ भोजपुरबाट काठमाडौं खाल्डो छिरेको २ दशक भएको छ। उनले रक्सी खान थालेको चाहिँ ३ दशक पूरा भयो। श्रवणको जीवनबाट रक्सी हटाइदिने हो भने के बाँकी रहन्छ उनलाई थाहा छैन। भन्छन्, ‘त्यो ठिक हुँदैन।’
श्रवणको रक्सीसँगको सम्बन्ध भोजपुरमा जन्मिएर काठमाडौं आएपछि मौलाएको हो। पहिलो पटक मदिराले ओठ स्पर्श गर्दा उनी ११ वर्षका थिए। अहिले ५१ वर्षको हुँदासम्म उनको जिब्रोले सयौं फरक–फरक मदिराका स्वाद लिइसकेको छ। रक्सी पिएर कतिपटक बेहोस भए, कतिपटक आफ्नो घरको बाटो बिर्सिए, त्यसको गणना छैन। उनलाई यति थाहा छ, ‘मातिएर अहिलेसम्म कसैमाथि हातपात गरेको छैन।’ उनीसँग गरिएको मदिरा सम्वादः
यो रक्सी हो र यो चिज पिएपछि लाग्छ भन्ने कुरा कति उमेरमा चाल पाउनुभयो?
सानैदेखि नै हो। म राईको छोरा हुँ। किराँतीहरुले त रक्सीलाई सामान्य रुपमा लिन्छन्। जन्मेको ९ दिनमा न्वारन गर्दा पनि मुखमा रक्सी लगाइदिएर चोखो बनाउने परम्परा छ। तर हाम्रो परिवारमा जाँड–रक्सी खानुहुँदैन, यसले भलो गर्दैन भन्ने संस्कार थियो। मेरै बाजे रक्सीका कारण उमेर छँदै लडेर बित्नुभयो। हाम्रो संस्कारमा जन्मदेखि मृत्युसम्म रक्सी अनिवार्य भएकाले मैले स्वभाविक ठानेर पिएँ।
ठ्याक्कै यति वर्षको हुँदा भन्ने याद छैन?
त्यही म १०–११ वर्ष हुँदा हुनुपर्छ। साकेलामा पिएको थिएँ। त्यस्तै २०३५–३६ सालतिरको कुरा होला। चाडमा कसैले मलाई खान्छस् भनेर सोध्यो र मलाई पनि पिऊँ–पिऊँ लाग्यो। त्यसपछि खाइदिएँ।