युवराज सिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

तस्बिरः आईसिसि

भारतीय क्रिकेटका अलराउण्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

भारतलाई सन् २०११ को एक दिवसीय विश्वकपको उपाधि जिताउन अलराउण्ड प्रदर्शन गरेका सिंहले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

सन्यास घोषणा कार्यक्रममा अत्यान्त भावुक भएका युवराजले भने,‘यो मेरो लाग अत्यान्त भावुक पल हो।  ‘25 वर्षसम्म २२ गजको पिचमा करिब १७ वर्षसम्म अन्तर्राष्‍ट्रिय क्रिकेट खेले पछि मैले यो निर्णय गरेको हुँ। यो खेलले मलाई लड्न सिकायो, फेरि  उभिएर अगाडि बढ्न सिकायो।’

भारतका उत्कृष्ट सीमित ओभरका क्रिकेटरमध्येका एक युवराज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने गम्भीर निर्णय आफूले धेरै सोच विचार गरेको लिएको बताए।

उनले आईसीसीको मान्यता प्राप्त विदेशी ट्वान्टी-२० लिगबाट आफूलाई प्रस्तुत गर्न चाहेको बताए।

युवराजले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल वेस्ट इण्डीजविरूद्ध सन् २०१७ जुन ३० मा खेलेका थिए।

उनले भारतका लागि ४० टेष्ट, ३०८ एक दिवसीय तथा ५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

टेस्ट क्रिकेटमा ३३.९२ को औषतमा १९०० रन बनाएका छन्। यस्तै एक दिवसीयमा ८७०१ रन बनाउँदा टी-२० क्रिकेटमा ११७७ रन बनाएका छन्।

युवराज सिंहले २०-२० विश्वकपमा सन् २००७ मा इंल्याण्डविरूद्ध ६ बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमानसमेत बनाएका थिए। साथै ट्वान्टी-२० मा १२ बलमा अर्धसतक प्रहार गर्ने विश्व रेकर्डसमेत बनाएका छन्।

सन् २०११ मा भारतमै आयोजना भएको एक दिवसीय विश्वकपमा भारतलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका सिंह म्यान अफ दी सिरिजसमेत भएका थिए।

युवराज सिंहले  सन् २००० अक्टुबर ३० मा केन्याविरूद्ध एक दिवसीय अन्तर्राष्ट्रिय वानडेमा डेब्यू गरेका थिए।  यस्तै सन् २००३ अक्टुबर १६ मा उनले न्यूजिल्याण्डविरूद्ध अन्तर्राष्ट्रिय टेस्टमा डेब्यू गरेका थिए। उनले भारतका लागि अन्तिम टेष्ट म्याच सन् २०१२मा इंल्याण्डविरूद्ध खेलेका थिए।

प्रकाशित मिति: : 2019-06-10 14:31:43

प्रतिकृया दिनुहोस्