उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले मृत्युदण्ड दिइएको भनिएका उत्तरकोरियाली परराष्ट्र मामिलासम्बन्धी अधिकारी किम हायोक चोल उनीसँगै देखिएका छन् ।
बीबीसीका अनुसार उनीहरू एउटा सांगीतिक कार्यक्रममा सँगै देखिएका हुन् । उत्तरकोरियाको सरकारी सञ्चारमाध्यमले तयार पारेको भिडियो फुटेजमा पनि उनीहरू सँगै देखिएको पुष्टि भएको छ । कार्यक्रमको उपस्थिति पुस्तिकामा चोलको नाम पनि देखिएको छ।
यसअघि दक्षिण कोरियाली एक सञ्चारमाध्यमले चोलसहित विदेश मन्त्रालयका अन्य चार अधिकारीलाई मृत्युदण्ड दिएको समाचार सार्वजनिक गरेको थियो । समाचारमा गत फेब्रुअरीमा भियतनामको हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उनीहरूलाई मृतयुदण्ड दिइएको उल्लेख थियो ।
यही समाचारलाई स्रोत मानेर विश्वका प्रायश: ठुला सञ्चार माध्यमले यो समाचार महत्वका साथ प्रकाशन/प्रसारण गरेका थिए । तर, चोल सार्वजनिक समारोहमा देखा परेसँगै त्यो समाचार नै गलत भएको पुष्टि भएको छ ।
यसैबीच चोलको मृत्युदण्डको समाचार प्रकाशन गर्ने दक्षिण कोरियाली समाचार माध्यमले भने त्यो कार्यक्रम अहिलेको नभएर धेरै पहिलेको भएको बताएको छ । उसका अनुसार चोलको मृत्युको समाचारलाई महत्वहीन बनाउन उतर कोरियाली सरकारले यस्तो प्रपञ्च गरिएको हो।
उत्तरकोरियाली पक्षले नबोले पनि चोललाई मृत्युदण्ड नदिएको पुष्टी गर्ने प्रयत्न गरेको छ भने दक्षिण कोरियाली सञ्चारमाध्यमले आफ्नो समाचारको अझै बचाउ गरिरहेको छ । यसबाट एक किसिमको भ्रम सिर्जना भएको छ। यथार्थ के हो त्यो त समयक्रममै उजागर होला ।