क्यानडामा थपिँदैछन् नेपाली बिद्यार्थी

क्यानडामा नेपाली बिद्यार्थी :  सजिना दंगाल- सेन्टेनियल कलेज, अमृता नेपाल- ल्याम्ब्टन कलेज र गौरव प्रधान- मक्गिल युनिभर्सिटी । फाइल तस्बिर

रुपन्देहीका गौरव प्रधान ६ महिनादेखि क्युवेकको मन्ट्रियलस्थित मक्गिल युनिभर्सिटीमा अध्ययनरत छन्।बुटवलको प्रभात इङ्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण उनी गत जनवरीमा क्यानडा आएका हुन् । प्रधान उक्त युनिभर्सिटीमा ‘वायोरिसोर्स इन्जिनियरिङ’मा एमएससी तहको थेसिस गर्दैछन्। 

स्थापनाको दुई सय बर्ष पूरा गर्नेक्रममा रहेको मक्गिल युनिभर्सिटीमा प्रधानजस्ता झण्डै १० हजार विदेशी विद्यार्थी छन्।युनिभर्सिटीका कूल बिद्यार्थीमध्ये २७ प्रतिशत प्रधानझैं क्यानडा बाहिरबाट आउने छन् । उक्त युनिभर्सिटीमा अहिले ४० हजार हाराहारी विद्यार्थी अध्ययनरत छन्। 

खाद्य सामग्री विकासलाई प्रधानले रिसर्चको बिषय बनाएका छन्।उनी पढ्ने उक्त युनिभर्सिटीमा अरु पाँच नेपाली विद्यार्थी पनि छन्, जो काम र पढाई सँगसँगै अघि बढाउँदैछन्।थेसिस सकेपछि प्रधान यहाँ बस्ने पक्षमा छैनन्, जबकि झण्डै ६० प्रतिशत विदेशी बिद्यार्थीले क्यानडाको ‘पिआर’ चाहन्छन्। 


‘मलाई काम गर्दै पढ्न खासै अप्ठ्यारो परेको छैन, समय व्यवस्थापन गर्नसक्दा सजिलै भइरहेको छ’ क्यानडाको उच्च शिक्षाबारे प्रधानले अनुभव सुनाए, ‘नेपालबाट निश्चित बिषयमा निश्चित उद्देश्य बनाएर पढ्न आउँदा सजिलो हुन्छ, विदेशमा पढुञ्जेल धेरैथोरै संघर्ष त गर्न परिहाल्छ।’ 

स्थायी आप्रवास चाहनेका लागि क्यानडा पहिल्यैदेखि रोजाईको राष्ट्र बने जस्तै आजकल प्रधानजस्ता विदेशी बिद्यार्थीका लागि शैक्षिक गन्तब्य बन्दैछ।उच्च शिक्षा अध्ययननिम्ति बर्षमा पाँच लाखभन्दा धेरै बिद्यार्थी भित्रिन थालेसँगै क्यानडाको नाम शैक्षिक क्षेत्रमा पनि विश्वव्यापि बन्न थालेको छ। 

११ हजार किमी हवाई दूरी पार गरेर क्यानडा आउने भारतीय बिद्यार्थीको संख्या विदेशी बिद्यार्थीमध्ये पहिलो नम्बरमा छ।लगभग उत्ति नै दूरी छिचोलेर आउने नेपालीको संख्या भारतीयका तुलनामा नगन्य भए पनि बर्षेनी बढ्दो छ।यहाँ एकै बर्ष पाँच सय ३० नेपाली बिद्यार्थी भित्रिएका छन्। 

त्यसैमध्ये एक हुन्– अमृता नेपाल, जो काठमाडौंबाट उच्च शिक्षा अध्ययननिम्ति क्यानडा आएकी हुन्।नेपाल छँदा ‘कन्टेन्ट राइटिङ’ मा काम गरिरहेकी उनी टोरन्टोस्थित ल्याम्ब्टन कलेजमा दुई बर्षे पोष्ट ग्रयाजुएट गर्दैछिन्।उनले रोजेको बिषय छ– बिजनेश म्यानेजमेन्ट। 


‘बाहिर पढ्दा ज्ञानको दायरा फराकिलो होला र भविष्यमा राम्रै केही गर्न सकिएला भन्ने लागेर यता आइयो’ कामसँगै पढाई निरन्तरता दिइरहेकी नेपालले भनिन्, ‘नेपाल छँदा विदेशको सेवा सुविधा र सुख सुविस्ताबारे जे जति सुनिन्छ, ती सबै सत्य नभए पनि मेहेनतपूर्वक अघि बढ्दा नराम्रो छैन।’ 

क्यानडामा बिद्यार्थीले कलेज लागेका बेला हप्तामा २० र छुट्टीका बेला ४० घण्टा काम गर्न पाउँछन्।त्यसबाट प्राप्त हुने कमाईले खान बस्न मात्र होइन, कलेजको ट्युसन शुल्क र खुद्रा खर्चसमेत पुर्याउनुपर्ने हुन्छ।अपुग भएको खण्डमा घरबाट मगाउनुपर्ने बाध्यता हुन्छ। 

‘तोकिएभन्दा बढी काम गर्न मिल्दैन, नगर्दा खर्च व्यवस्थापन गर्न गाह्रो हुन्छ’ क्यानडामा अध्ययनरत विदेशी बिद्यार्थीको साझा समस्याबारे नेपालले सुनाइन्, ‘सुरुका दुई बर्ष सबैलाई अलि गाह्रो हुने रहेछ, पढाई सकेर वर्क पर्मिट लिएपछि चाहिँ फुलटाइम काम गर्न मिल्ने भएकाले सजिलो होला।’ 

विदेशी बिद्यार्थीले आफ्नो पढाई पूरा भएपछि आवेदन गरेको खण्डमा ‘सिटिजनसिप एण्ड इमिग्रेसन क्यानडा’ (सिआइसी) ले वर्क पर्मिट उपलब्ध गराउँछ।जसको मद्दतमा क्यानडामा तीन बर्षसम्म काम गर्न सकिन्छ।पढाईअनुसारकै क्षेत्रमा राम्रै ओहोदाको जागिर मिले छिटो ‘पिआर’ मिल्ने सम्भावना बढी हुन्छ। 

नेपाली बिद्यार्थी प्रायः पोष्ट ग्रयाजुएसन गर्न क्यानडा आएको देखिन्छ।त्यसरी आउने नेपाली बिद्यार्थी मुख्यत अन्टारियो प्रोभिन्सको टोरन्टो क्षेत्रमै बढी छन्।अरु प्रोभिन्सका कलेज र युनिभर्सिटीमा केही कम।त्यसमध्ये कतिपय पोष्ट ग्रयाजुएसन सकेर मास्टर्स गर्नतिर लाग्छन् भने कतिपय पढाई छोडेर फुलटाइम कामतिर। 

ललितपुर नखिफपोटकी सजिना दंगाल भने पढाईलाई अझै निरन्तरता दिने सोचमा छिन्।टोरन्टोस्थित सेन्टेनियल कलेज अध्ययनरत छन् उनी।गत जनवरीमा क्यानडा आएकी उनी ‘फाइनान्सियल प्लानिङ’मा पोष्ट ग्रयाजुएट गर्दैछिन्।क्यानडाका सामुदायिक कलेजमध्ये अग्रणी मानिएको सेन्टेनियलमा उनीजस्ता अरु पनि केही नेपाली विद्यार्थी अध्ययनरत छन्। 


उच्च शिक्षा अध्ययननिम्ति झण्डै १६ लाख रुपैयाँ खर्चेर दंगाल क्यानडा आएकी हुन्।भिसा प्रक्रियादेखि कलेज भर्नासम्बन्धी सबै प्रक्रिया श्रीमानको सहयोगमा गर्दा उनी तुलनात्मक रुपमा कम खर्चमा क्यानडा आएकी हुन्।कतिपय विद्यार्थी २२ लाख रुपैयाँसम्म खर्चेर अध्ययननिम्ति यहाँ आएका छन्। 

‘नेपालबाट हामी आफैंले सबैजसो कागजी प्रक्रिया मिलाउन सफल भयौं, कन्सलट्यान्सीको पछि लाग्न परेन’ दंगालले क्यानडा आउँदाको अनुभव सुनाइन्, ‘आफैंले गर्न नसकेको खण्डमा खर्च त बढ्छ नै, प्रलोभनमा पर्ने र अरु कतिपय कुरामा झुक्किने अवश्था पनि आउनसक्छ।’ 

एक बर्षे पोष्ट ग्रयाजुएट सकेपछि मास्टर्स तहको अध्ययन गर्न दंगाल अहिल्यैदेखि युनिभर्सिटीबारे चासो गर्दैछिन्।यसरी आफ्नै प्रयास या कन्सलट्यान्सीको भरमा क्यानडा आउने नेपाली बिद्यार्थीहरु बर्षेनी बढिरहेका छन्।त्यसको उदाहरण, टोरन्टो क्षेत्रका सबैजसो कलेजमा फाट्टफुट्ट नेपाली बिद्यार्थी भेटिनु हो। 

‘सिटिजनसिप एण्ड इमिग्रेसन क्यानडा’ (सिआइसी) को तथ्यांकअनुसार सन् २०१८ मा पाँच सय ३० नेपालीले क्यानडामा उच्च शिक्षा अध्ययननिम्ति ‘स्टडी पर्मिट’ लिएका छन्।चालु बर्ष २०१९ को तीन महिना अर्थात् मार्चसम्म ‘स्टडी पर्मिट’ लिने नेपाली बिद्यार्थी ८० जना पुगिसकेका छन्।  

सन् २०१५ मा एक सय ५० मात्र रहेको नेपाली बिद्यार्थीको संख्या २०१६ मा दुई सय १५ र २०१७ मा तीन सय ४० हुँदै २०१८ मा पाँच सय ३० पुगेको हो।भारतीय बिद्यार्थीको संख्या भने २०१५, ०१६, ०१७ र ०१८ मा क्रमशः ३१ हजार ९ सय ६०, ५२ हजार ७ सय, ८३ हजार १ सय ८० र १ लाख ७ हजार ५ सय ५ छ।सन् २०१८ मा जम्मा ५ लाख ७२ हजार ४ सय १५ विदेशी बिद्यार्थी क्यानडा भित्रिएका थिए। 

 

 

प्रकाशित मिति: : 2019-06-03 03:36:02

प्रतिकृया दिनुहोस्