यो कथा हो एउटा असाधरण 'युवक'को।
कक्षा ११ को परीक्षा चल्दैछ। तयारीका लागि कामबाट छुट्टी लिएका छन्, उनले। त्यसैले भेट्न ललितपुरको हात्तीवन पुग्यौं।
पढ्नका लागि कामबाट छुट्टी लिएका उनी सोमबार दिउँसो भने छिमेकीको कोठामा थिए, लुडो खेल्दै पो रहेछन्।
छिमेकको घरको साँघुरो कोठा। ढोकामा उभिएर हेर्दामात्र खेल प्रष्ट देखिने।
पोट आए युवकले बाजी मार्ने पक्का रहेछ। उनको उत्साह उत्कर्षमा थियो। भेट्न पुगेका हामीलाई समेत वास्ता गरेनन्। यसो एक पटक पुलुक्क ढोकातिर त हेरे तर लगत्तै लुडो बोर्डतिरै घोप्टिहाले। गोटी फाल्ने पालो उनको रहेछ। गोटी समाते, आँखा चिम्म गरेर निहुरिए। छाती र निधारमा पालैपालो छुवाए र बेस्कन हल्लाएर भुईँमा फाले। गोटी कोल्टियो। केही नसोची उठाएर उही प्रक्रिया दोहोर्याए। खेल्ने र हेर्ने सबैजना एकसाथ चिच्याए - पोट।
भुईंमै राखेको चारवटा पचासको नोट उठाए, जितको सान उनको अनुहारमा देखियो। अनिमात्र हामीतर्फ हेरे र सोधे – ‘तपाईँहरुलाई ड्यु मनपर्छ कि स्प्राइट?’
जवाफ पर्खेनन्। छेउमा रहेकी एक महिलालाई पैसा दिँदै केही फुस्फुसाए र सरासर हामीलाई संकेत गर्दै आफ्नो कोठातिर हिँडे। हामी पछिपछि लाग्यौं।