‘ध्यान दिएर सुन, तिम्रो श्रीमानले संसार छोडे, अब अझै ख्याल गर्नु ।’
फोनमा यति आवाज सुनेपछि म भावसून्य हुनुपर्ने हो, या त भावविह्ल भएर सम्हालिनसक्नु गरी कोकोहोलो गर्नु पर्ने थियो शायद। जीवन र जीवन पनि, सुख या दुःखमा पनि सँगै हुन्छु भनेर आफ्ना सबै नातासम्बन्धहरु छोडेर उसैसँग हिँडेकी मलाई तरबारले काटेको, वाणले रोपेको जस्तै पीडा हुनुपर्ने हो, तर भएन। अहँ हुँदै भएन। मैले संसारमा छोरा जन्माउनु भन्दा अगाडि सबैभन्दा माया गरेको मान्छेले संसार छोड्दा मैले ‘ठीकै भयो’ भन्ने दिन आए।
‘उ’ प्रति मेरो यो संवेदना यसरी थाहा पाउने जतिले मलाई भन्लान, ‘कस्तो ढुंगाको मन भएकी ‘आइमाई’ रैछ, कस्तो पाप सोचेकी होला, यसले पनि मर्नु पर्छ।’ नसोचुन पनि किन, बाटोमा मरेको कुकुर देख्यो भने त ‘च्व,च्व’ ‘कठै बरा’ भन्न आउँछ। शायद ‘त्यो’ बेलामा उसलाई केही भएको भए म पनि प्रेम वियोगी भएर उसकै नाममा मर्न तयार हुन्थे होला, तर परिस्थितीले मलाई उसको देहान्तमा ‘च्व च्व’ गर्ने सुझ समेत दिएन।