गृहमन्त्रालय सोमबार विपेलव माओवादीले गरेको नेपाल बन्दका क्रममा छिटपुट घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको बताएको छ।
सोमबार साँझ एक विज्ञप्ति निकाल्दै गृहमन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले आयोजना गरेको बन्दका क्रममा नेकपाका १५ जना नेता/कार्यकर्ता मुलुकका बिभिन्न स्थानबाट पक्राउ परेको जानकारी दिएको छ।
मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोधसमेत गरेको छ।
गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई गृहले अनुरोध गरेको छ।
निर्दोष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर विस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पुर्याउनेलगायतका घटना अमानवीय भन्दै मन्त्रालयले त्यसको भत्सर्नासमेत गरेको छ।
कानून र शान्तिविरोधी गतिविधिमा संलग्न नहुन मन्त्रालयले सबैलाई अपिल गर्दै मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
यसअघि आइतबार विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा परी चार जनाको मृत्यु हुनुका साथैसात जना घाइते भएका थिए।
उनीहरु सोही समूहका कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको भन्दै मन्त्रालयले घाइतेहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।
बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार राति ७ जनालाई प्रहरीले पर्चा, पम्पलेटजस्ता सामानसहित नियन्त्रणमा लिएको थियो।
यस्तै ललितपुर एकान्तकुनाबाट ४ जना, रूकुम पश्चिम आठबिसकोट–४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका–१२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएको छ।
जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ मा ना७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका-१ मा ना ६ ख ८००७ नम्बरको ट्रकमा आजगानी भएको छ। यस्तै सुर्खेत भेरीगंगा नगरपालिका-८ मा ना २ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका-१६ मा बा ३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका-१ मा भे ७ प ४७५७ र भे ७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका-६ मा ना ८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन्।
यस्तो छ विज्ञप्ति