प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन्।
गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधिमा निर्माण भइसक्ने बताए। ‘अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गरेका छन्। ‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन।’
प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनुपर्ने बताए।‘नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनु पर्छ ” प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेकोत्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर,बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरेका थिए।
प्रधानमन्त्री ओली बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे। प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्रधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए।