भर्खरै नेपालमा शिक्षासम्बन्धी संसदीय उपसमितिले सरकारी बिद्यालयको सञ्चालन सम्बन्धमा अनेक नयाँ नीति हुनुपर्ने भनेर सिफारिश गरेको छ। उपसमितिले ‘शिक्षा तथा स्वास्थ्य’ मूल समितिमा प्रस्ताब गरेका नीतिहरुमा विद्यालयको प्रधानाध्यापक हुन तोकेको योग्यताको चर्चा र बहसले अलिकअघि सामाजिक संजाल बेस्सरी तात्यो एकपल्ट।
प्रधानाध्यापकको नयाँ शैक्षिक योग्यताको यो प्रस्तावले देखाउँछ कि नेपालमा मुद्राको क्रयशक्ति घटेर अत्यधिक मुद्रास्फीति भएजस्तै अब डिग्रीको पनि गुणस्तर धान्ने मूल्य घटेर डिग्रीस्फिति सुरु भयो।
पहिले विद्यालयको तह प्राथमिक, निम्न-माद्यामिक र माद्यामिक हुँदा क्रमसःएसएलसी, प्रमाणपत्र तह र स्नातक डिग्रीले धान्थ्यो विद्यालयको प्रधानाध्यापक हुन।अहिले नेपालको स्कुले शिक्षा नै दुई तहमा मात्र बाँडिएको छ १-८ लाई आधारभूत तह र ९-१२ लाई माध्यमिक तह। यो तहका विद्यालय चलाउने प्रअको विद्यमान शैक्षिक योग्यताले शिक्षाको गुणस्तर पुग्दैन भनेर होला आधारभूतलाई स्नातकोतरवाला हेड सर र माविलाई एमफिलवाला हेड सर हुनुपर्यो भनिएको छ।
उहिले हामी छ/सात कक्षामा पढ्दाको सम्झना छ।गाउँमा अलिक टाठो-बाठोपन भएको, लेखापढीमा अलिक अगुवा मान्छे, बोलीचालीमा अलिअलि स्कुल गएर केही सिकेको जस्तो भाषा बोल्ने मान्छे हुन्थे- दुई-चारजना।तिनको कुरा गर्थे बुबाआमा गाउँलेहरु।भन्थे-‘फलानो त उहिलेको पाँच किलास पढेको, उहिलेको सात किलास सकेको, उहिलेको १० किलास पढेको पो त।’उहिलेको पाँच किलास भनेको अहिलेको आठभन्दा धेर हो, उहिलेको १० किलास भन्या त अहिलेको आइएले नि भ्याउदैन आदि।अर्थात् उसबेलाको एक मोहोर अहिलेको एक हजार भनेजस्तै शिक्षाको डिग्रीको पनि क्रमश: अवमूल्यन हुदै गएर उही कामका लागि माथिल्लो माथिल्लो योग्यता थप्दै हेड सरहरुलाई काम लाउनुपर्ने स्थिति आएको छ अहिले।हुन पनि पहिले प्राथमिक शिक्षा भनेर कक्षा पाँचसम्म मान्दा पुग्या थियो तर महँगीको जुगमा त्यसलाई पनि बढाएर अहिले कक्षा आठसम्म गरिएको छ।
हुनुपर्ने चाहिँ ठीक उल्टो हो।अर्थात्, पहिलेको कक्षा १० को सिकाइ अहिलेको कक्षा सात वा आठ भन्नुचाहिं उचित हुनुपर्ने हो बरु।बदलिएको जुग जमाना, बिकास र प्रबिधिले मान्छेको जीवनशैलीमा पारेको बदलावले शिक्षाका डिग्री गर्ने कुरा पनि बदलिनु पर्ने हो।काम गर्ने समय र शैली मिलिक्क हुने प्रविधिको युगमा थोरै र सिमित कुरा जानेर पढेर प्रतिष्पर्धाको युगमा टिकिखान नसकिने यथार्थ छन् अहिलेका
पुरानो समाजशास्त्रीय र मानवशास्त्रीय चिन्तन र प्रवृतिमा बदलाव आएको स्थिति छ अहिले। मान्छेको कुनै जात, धर्म, वर्ग विशेषको स्थानीयत्वको हैसियत विनिर्माण भएको छ अब।म यो जातको, यो विशेष धर्मको र यो विशेष ठाउँको जाति प्रजाति हुँ भनेर पहिचान गर्नु र गराउनुको औचित्य क्रमश खिइदै गएको छ अब।मान्छेको शैक्षिक योग्यता, सोच, सीप, काम गर्ने संस्कार र सबन्ध बनाउने कुराका आधार अब स्थानीयत्वबाट फुटेर बाहिर निस्की ‘ग्लोबल’ चरित्रका भएका छन्। भुटानको कुनै विश्वविद्यलायामा समाजशास्त्रमा मास्टर्स डिग्री गरेको भुटानीले अमेरिकी समाजको जागिरे हुनसक्नुपर्ने जुग हो अहिलेको जुग भनेको।त्यस कारण प्रत्येक कक्षा र शैक्षिक डिग्रीहरुका पाठ्यक्रम पुराना र साँघुरा विषयवस्तु र क्षेत्रबाट निकालेर युगसम्मत् ब्यापक र फराकिलो सोच, चिन्तन, योग्यता र सीप बिकास गर्ने हुनुपर्ने हो अझ त्यसैले गाउँघरको ‘डिस्कोर्समा’ ‘उहिलेको आईएले त अहिलेको आठ किलास पढेकोलाई भ्याउँदैन नि…‘ भनेको सुनिनुचाहिँ स्वभाविक हुनुपर्ने हो अहिले। तर, नेपालमा जतिजति जुगजमाना आधुनिक प्रविधिबाट अत्याधुनिकतर्फ जाँदैछ उतिउति हाम्रो डिग्रीको तीब्र डिग्रीस्फिति हुँदैछ।
नेपालमा डिग्रीको साँची नै मूल्य छैन।मूल्य नहुनुका धेरै कारण छन्। मैले नेपालमा एमएड डिग्री गरेको छु। त्यसो हुनाले मसँग त्रिविका दुईवटा डिग्री छन् अर्थात् ‘ब्याचलर्स डिग्री’ र ‘मास्टर्स डिग्री’।यता क्यानाडा आएर एकबर्षे छोटो युनिभर्सिटी डिप्लोमा गरें।नेपालमा डिग्री आर्जन गर्न मैले गरेको तौरतरिका र यहाँ मैले युनिभर्सिटी शिक्षा लिन गर्नु परेको फरक शैली र विधिको खिप्ति देखेर म के बोल्नु के नबोल्नुको स्थितिमा पुगें।
नेपालमा विश्वविद्यालय शिक्षा लिने जुन तरिकाले मैले डिग्री लिएँ त्यसले मलाई अलिअलि आफूले पढेको विषयवस्तुको मुखौटे ज्ञान र कागजी योग्यताको प्रमाणपत्र बाहेक केही दिंदैन।नेपालमा विश्वविद्यालय पढ्नु भनेको जाँचको तालिका कहिले आउँछ भनेर कुर्नु र आएपछि सबैभन्दा सजिलो बाटो खोजेर त्यो जाँचको सामना गरेर उतीर्ण हुने ‘तीन महिने’ हर्कत गर्नुलाई भनिन्छ। सजिलो बाटो भन्नुका कारण छन्।जाँचमा आउँन सक्ने भनेर कुनै अमुक ‘टपर’ले कोठामा बसेर तयार पारेको ‘गेस पेपर’ भनिने ‘अनुमान संग्रह’का ऋचा घोकेर, फलाँस खेल्ने फलाँसेहरुले जस्तो आफ्नै अनुमानको भर योयो आउला कि भनेर ‘ब्लाइन्ड’ हान्दै रटेर, अघिल्ला अघिल्ला बर्षका जान्नेले बनाएका प्रश्नोत्तर ढाँचाका नोटबुकको भर गरेर, आफ्नो रटन्ताम ज्ञानका आधारमा र यताउताबाट तानतुन पारेर कुनै ‘गोल्ड मेडलिस्ट’ भनिएकाले ‘कोर्स अफ स्टडिज’ का हुबहु बुँदाको अलिअलि ब्याख्या गरी लेखेका‘टेक्स्ट बुक’ भनिने किताबका भरमा डिग्री लिने हो धेरैजसोले नेपालमा।यो हो सबैभन्दा सजिलो बाटो भनेको। उतीर्णमुखी डिग्री हासिल गरेर हातमा खोस्टो परेपछि कथम् जागिर खान थालियो भने अनि सकियो लन्ठा।जसरी चोरबाटो, छलछाम बाटो,सजिलो बाटो गरेर डिग्री सक्यो त्यसरी नै टिपनटापन टालटुले पाराले बजारमा निक्लिएका गाइड र गेसपेपरका भर गरेर उच्च शिक्षा पढायो बस्यो।जागिर भेटिएन भने पासपोर्ट बनाउने बिकल्पमा जाने त सुरक्षित नै छ।
क्यानाडा आएर अलिक धेरै बुझियो विश्वविद्यालयको शिक्षा लिनु र दिनु भनेको खेलाँची होइन रहेछ भन्ने।विश्वविद्यालय पढ्दा आफुले कोर्सको अबधिभरि लेखेका पेपर, गरेका अनुसन्धान, पूरा गरेको ‘इन्टर्नसिप’ र त्यसमा पाएको ‘सुपर्भाइजर’को मुल्यांकन टिप्पणी, आफ्ना ‘प्रोजेक्टवर्क’का नमूना, चित्र, ग्राफ आफ्नो, वैयक्तिक विवरण(रिजुम) आदि संग्रहित‘प्रोलेसनल पोर्टफोलियो’ नामको एउटा फाइल तयार गर्दै जानुपर्छ र रोजगार बजारमा छिर्न सबै हिसाबले योग्य र तयार हुनुपर्छ भन्ने भुत्लोभाङ थाहा पाएइन डिग्री सक्दासम्म।र, अन्तिममा यो फाइल आफ्नो प्रोफेसरलाई देखाउनु पर्छ र त्यसको नि मुल्यांकनमा ‘मार्क’ गरिन्छ भन्ने मलाई विश्वविद्यालयको डिग्री लिइसक्दासम्म कहिले थाहा भएन नेपालमा।यो एउटा उदाहरणको कुरा हो।उच्च शिक्षा लिनु-दिनुका यस्ता धेरै कुरा थाहै नपाइकन नेपालमा डिग्री हासिल हुन्छ।
उच्च शिक्षा लिने-दिने काम सारै नै जिम्मेवार काम रहेछ। म कुनै युनिभर्सिटीको डिग्री लिन जान्छु भने म पूर्णरुपले ब्याबसायिकरुपले नै विद्यार्थी हुनुपर्ने रहेछ भलै मैले जागिर नै खानु परोस् सँगसँगै।
उच्च शिक्षा हासिल गर्दा मैले कसरी पढ्छु, विषयवस्तुबारे कति गहिराहीमा गएर बुझेर पढ्छु, मैले पढ्नुपर्ने पाठका प्रत्येक हरफ, भनाइ र दाबीहरुको वास्तविक जीवनमा किन र कसरी त्यसको प्रायोगिक महत्व छ, ब्यबहारमा यो कहाँ र कसरी जोडिन्छ भन्ने कुरालाई पर्गेलेर हेर्छु कि हेर्दिन भन्ने कुराका आधारमा मैले लिने डिग्रीको गुणस्तर निर्धारण हुने रहेछ।
जुनसुकै शास्त्र, संकाय र अध्ययनको विषयमा पनि फिल्डमा गएर दुई-चार ‘केस स्टडिज’ गरेर सिद्धान्तको उपयोगिता,सम्भाव्यता र चुनौतिको प्रायोगिक लेखाजोखा गरेर हेरियो कि हेरिएन भने कुरा विश्वविद्यालय शिक्षाको मेरुदण्ड रहेछ।प्रशस्त सन्दर्भ श्रोतहरुले प्रमाणित गरेर डिग्रीमार्फत् दिमागमा भरेको ज्ञान त्यसको प्रायोगिक फिल्डमा गएर हात चलाउँदा यसरी काम आउँछ भन्ने स्पष्ट र सिर्जनशील दृष्टिबोधका साथ दीक्षान्त समारोहमा टोपी लाउन र फोटो खिच्न हिम्मतिलो भएर उभिनु पर्ने रहेछ।
यसरी पढ्दा विद्यार्थीको भागमा गर्नुपर्ने कामको भार अधिक हुन्छ। सम्बन्धित पाठ शीर्षकमा अनुसन्धान पेपर तयार पार्नुपर्ने, फिल्डमा गएर केस स्टडी गरेर हेर्नुपर्ने, सहपाठी समूहमा अनुसन्धान गर्नुपर्ने, सन्दर्भ श्रोत उल्लेखित ‘एकेडेमिक एसे’ लेखेर बुझाउनुपर्ने, हप्तैपिच्छे हुने ‘क्विज’ भनिने जाँचका लागि पढ्नुपर्ने, निरीक्षकहरुको निगरानीमा हलमा हुने अन्तिम परीक्षाको लागि तयारी गर्ने आदि जम्मै कामको चापले एकैचोटि छोप्दोरहेछ उच्चशिक्षा पढ्दा त्यसमाथि परिवार, जागिर पनि छ भने त्यो मान्छेको हाडछालाले कसरी धान्ला? मान्छे भित्रैदेखि प्रेरित छ आफ्नो अर्थपूर्ण डिग्री कमाउन र त्यो डिग्रीको भरमा ‘लर्न्ड एंड इन्फर्म्ड’ पेसेवर हुन भने सकिने कुरारहेछ यो सब।
सायद अहिले फेरिएको होला त्रिविको पठनपाठन गर्ने गराउने शैली। सन् २००२ मा मैले त्रिवि केन्द्रीय क्याम्पस पढ्दा डिग्री हासिल गर्ने माथि उल्लेखित तिकडम जस्तो त पक्कै छैन होला। सेमेस्टर प्रणाली चलेको छ रे अहिले।सेमेस्टर प्रणाली भन्दै एक बर्षको कोर्सलाई दुई वा चार भागमा विभाजन गर्ने तर पढ्ने र पढाउने शैलीलाई ज्यूँकात्यूँ राख्ने गरेरचाहिँ हुने केही होइन।
एकबेला आन्तरिक मुल्यांकनमार्फत् प्राध्यापकले आफ्नो बिषयमा २० प्रतिशत अंकको विद्यार्थी मुल्यांकन गर्ने भन्ने चलन ल्यायो त्रिविले।विद्यार्थीहरु प्राध्यापकले दिएको ‘असाइन्मेन्ट’ तोकिएको मापदण्डमा पूरा गरी राम्रो अंक ल्याउन लाग्नुभन्दा कि प्राध्यापकको चाकरीमा उत्रिए कि तँ पख्लास् भनेर धम्क्याउनतिर लागे।राम्रा मतिले ल्याएको थियो त्यो नीति तर त्यसले के गर्यो त भन्दा प्राध्यापकहरु कि जमिन्दारी देखाउने हैसियतमा उक्लिए कि अंक थोर पाएको झोंकमा विद्यार्थीको कुटाइ खाने स्थितिमा पुगे। अन्तत: आन्तरिक मुल्यांकनको चलन नै हटाउनु पर्यो त्रिविले।
नेपालको डिग्रीस्फीतिलाई रोक्न विश्वविद्यालयमा पढाउने र पढ्ने शैलीमा आमूल परिवर्तन गर्नु अति नै आवश्यक छ।
ज्ञानको नयाँ आविष्कार र विस्तार, शिक्षित नागरिकहरुको ‘विथआउट बोर्डर’ जहाँ नि गएर काम गर्ने भन्ने बदलिएको सोच र अभ्यासका कारण हाम्रो डिग्रीले अब सबैतिर मान्यता पाउने गरी त्यो आर्जन गर्ने र गराउनेबारे लागे पो हुने हो। त्यसका लागि पाठ्यक्रम कक्षा एकदेखि विश्वविद्यालयको डिग्रीसम्म नै आपसमा एउटा धागोमा बाँधिएको मालाजस्तो स्पष्ट लक्ष्य र कार्यान्वयनका ठोस नीति, रणनीति र श्रोतसाधनले परिपूर्ण हुनुपर्यो।विश्वविद्यालय शिक्षा हासिल गर्ने र प्रदान गर्ने विश्वजनीन विधि, प्रक्रिया, जाँगर, प्राज्ञिक इमान-जमान,श्रोतसाधनको जोगाड र प्रयोग र जिम्मेवारीप्रतिको सही बोधआदि आक्रामक सांस्कृतिक र पेसेवर परिवर्तन नगरी डिग्रीको माथिल्लो र झन् माथिल्लो योग्यता चाहियो भनेर आदेश जारी गरेर मात्र त पुग्दैन।डिग्रीका तह थपेर डिग्रीस्फीतिलाई बढवा दिने हैन, भएका डिग्रीको गुणस्तर बढाउनुपर्यो। विश्वविद्यालयका डिग्री लिएका नागरिकलाई तैंले योभन्दा अझै धेर गर्न सक्छस् तेरो ‘महान’ डिग्रीको क्षेत्र र गरिमा हेर त भनेर भन्न सक्नु पर्यो।
हाम्रो घोकन्ते डिग्री शिक्षाको सबैभन्दा ठुलो समस्या पढेको कुरा बुझेर थन्क्याउने र क्रमश: भुत्ते हुँदै जाने हो।त्यसको प्रायोगिक महत्व हुन्छ र किताबमा पढेको जुनसुकै कुरा ब्यबहारमा लागु गरेर देखाउन सकिन्छ भन्ने कुराको संस्कृति र चिन्तन बिकास गर्न नसक्नु हो। त्यस हिसाबले पढाउने क्षमता, तत्परता, सोच, योजना र श्रोतसाधनको अभाव हाम्रो यथार्थ हो।
विदेशतिर ‘ह्याण्ड्स अन एजुकेसन’ भनिन्छ जसको अर्थ पढेको कुरा काम गर्दा हातमा, सोचमा, शैलीमा, ब्यबहारमा देखिनुपर्छ जसले गर्दा आउँछ भनेको परिणाम आओस् र डिग्रीस्फिती नहोस्।