अफताब आलमका भाइ भन्छन्- ‘सत्यको जित भयो’, पीडित परिवार सर्वोच्च जाँदै

दिपेश पौडेल

रौतहटको राजपुर बमकाण्ड अभियोगमा जिल्ला अदालतबाट दोषी ठहरिएका कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चारजनालाई उच्च अदालतले सफाइ दिएपछि पीडितहरू असन्तुष्ट बनेका छन्।

२२ वर्षका छोरा त्रिलोकप्रताप सिंहलाई इँटा भट्टामा जलाइएका पीडित ८४ वार्षिय बुवा श्रीनारायणले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे। अफताब आलमलाई सफाइ दिने उच्च अदालत विरगंज इजलासको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने पीडित परिवारले बताएका छन्।

यमुनामाई गाउँपालिका-४ सरुअठाका सिंहले न्यायका लागी आफू सास रहुन्जेल लडिरहने बताए।

यता कांग्रेस नेता अफताब आलमका भाइ मोहम्मद महताद आलमले भने गौर कारागारबाट छुटेपछि सत्यको जित भएको बताउँछन्। यसअघि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए।

०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरूलाई जिउँदै ईंटा भट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले ०८१ वैशाख १४ गते अफताब आलमसहितलाई जन्मकैदको फैसला गरेको थियो।

उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गत बुधबार आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो। ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासँगै रिहा भएका थिए।

अहिले नेता आलमको भने मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2025-06-01 12:59:00

प्रतिकृया दिनुहोस्