बजेटअघि आज प्रतिनिधिसभाको बैठक बस्दैछ। जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेश गर्नुअघि आजको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, आजको बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।
आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछिन्।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति मागी विधेयक प्रस्तुत गर्नेछन्।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ।
तर विपक्षी दलहरूले भने संसद बैठक चल्न नदिने रणनीति बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बस्नुअघि संसदीय दलको बैठक बोलाएका छन्।
यसअघि नै रास्वपाले १३ गतेको संसद बैठक सामान्य नहुने भन्ने चेतावनी दिइसकेको छ। उसले यसअघि रमेश लेखककै अभिव्यक्ति स्मरण गराउँदै राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठाउने भएको छ।
गृहमन्त्री हुनुभन्दा अघि सांसद रमेश लेखकले प्रतिनिधिसभा बैठकमै तत्कालीन गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका थिए। त्यो बेला रवि लामिछानेलाई सहकारी ठगीको आरोप थियो।
अहिले रमेश लेखक गृहमन्त्री छन् र भिजिट भिसामा सेटिङ गरेको आरोप उनीमाथि छ। यद्यपि नेपाली काँग्रेस र सत्ता साझेदार नेकपा एमालले उनले राजीनामा दिनुपर्ने विषयलाई अस्विकार गर्दै लेखकको त्यसमा संलग्नता नरहेको भनिसकेका छन्। लेखक आफैले पनि यसबारे संसदमा जवाफ दिने भनेका छन्। तर रास्वपा र राप्रपा अनि नेकपा माओवादीले संसदमा उनको राजीनामा माग्ने बताइरहेका छन्।