शनिबार आफ्ना नाती ह्रृदयेन्द्रको हात समाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी छिरेर चातुर्व्यूह नारायण मन्दिरमा पूजा गरे। यसबाट एकातिर राजावादीहरू अझ उत्साहित भएर जेठ १५ गतेको तयारीमा जुटेका छन्।
यसबीचमा प्रधानमन्त्रीले नै उत्तेजक र भीडन्तकारी निर्देशन दिन थालेपछि जेठ १५ गते काठमाडौंमा गम्भिर मुठभेडको सम्भावना बढेको छ।
१५ गतेका लागि भनेर एकातिर राजावादीहरूले एक महिनादेखि नै तयारी थालिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो आन्दोलनलाई निस्तेज पार्न आफ्ना कार्यकर्तालाई आदेश दिएका छन्।
यद्यपि नेकपा एमालेले यसअघि जेठ १५ गतेका लागि त्यस्तो कुनै तयारी गरेको थिएन। जेठ १५ गते गणतन्त्र दिवस हो र यसलाई सरकारले उत्सवका रुपमै मनाउँदै आएको छ। त्यसका लागि प्रधामन्त्री नै त्यो दिवसको मूल समारोह समितिका संयोजक रहन्छन्।
तर सोमबार काठमाडौंमा भेला भएका नेकपा एमालेका वडाअध्यक्षहरूमाझ प्रधानमन्त्री ओलीले १५ गते भीडन्त नै निम्त्याउनेगरी कार्यकर्ताहरूलाई आदेश दिए।
‘उठ्नेबित्तिकै बिहानैदेखि १५ गतेको तयारी थाल्नुस्। निर्देशन पछि आउँदै गर्ला। अहिलेलाई मैले भनें, १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ। कसरी, कसले कहाँबाट गर्ने त्यो कुरा छोडिदिनुस्। आन्दोलनमा प्रोटोकल हुँदैन, जो जहाँबाट गए पनि हुन्छ…’ प्रधानमन्त्रीले भनेका थिए।
प्रधानमन्त्रीले गैरसंवैधानिक र उत्तेजक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने त्यसको कडा विरोध जनाएको छ। सत्ता साझेदार नेपाली काँग्रेस महामन्त्री गगन थापालगायत सत्तपक्षकै अरु नेताहरूले पनि त्यसप्रति आपत्ति जनाएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘चिन्ताजनक’ भनेको छ।
तर त्यसअघि राप्रपाकै अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति पनि कम्ता उत्तेजक थिएन। लिङ्देनले राजावादीको आन्दोलनका थेग्न नसकेर नेताहरू भाग्ने दिन आउनसक्ने दोहोर्याउँदै आएका थिए। एक दिन संसदमा बोल्दैन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे खिसी गरेका थिए।
त्यसको केही दिनपछि लिङ्देनले फेरि प्रधानमन्त्रीलाईचाहिँ भाग्नका लागि हेलिकोप्टरको सुविधा दिन सकिने भन्दै ब्यंग्य गरे। चैत १५ देखि राजावादी र गणतन्त्रवादी भनिने राजनीतिक दलका नेताहरूबीच यस्तो घोचपेच बढ्दै जाँदा उनीहरूका अभिव्यक्ति पनि उत्तेजक हुन थालेका छन्।
जेठ १५ गतेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालमा राजसंस्था स्थापित गर्नका लागि दोस्रो आन्दोलनको सुरुवात भनेको छ। राजशाहीको व्यवस्था नै अन्त्य गरेर गणातन्त्रिक नेपाल घोषणा गरिएकै दिन उसले राजा फर्काउने आन्दोलनको चर्को सुरुवात गर्न खोजिरहेको छ।
त्यो आन्दोलनलाई सफल बनाउनका लागि राप्रपाका नेता-कार्यकर्ताहरूले काठमाडौंमा घरदैलो गर्दै समर्थन जुटाउनेसमेत प्रयास गरिरहेको छ।
यसअघि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएपछि राजावादीहरूको चर्को आलोचना भएको थियो। त्यसअघि र त्यसपछि तितरबितर भएका राजावादीहरू १५ गतेको आन्दोलनका लागि भने एकजुट भएका छन्। त्यो आन्दोलनको अगुवाई राप्रपा आफैले गर्दैछ। भने अग्रपङ्त्तिमा आफै उभिने भन्दै कसैलाई त्रसित नहुन अध्यक्ष राजेन्द्र लिङ्देनले अपिल गरेका छन्।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले राजावादीको त्यो आन्दोलनलाई निस्तेज बनाउनेगरी काठमाडौं नै कब्जा गर्न निर्देशन दिएपछि नेकपा एमालले पनि त्यसको तयारी थालेको छ।
एमालेले उपत्यकाका तिनै जिल्लाबाट कार्यकर्ता उतार्नेगरी आफ्ना बरिष्ठ नेताहरूलाई जिम्मेवारी पनि तोकेको छ।