दक्षिण कोरियामा नेपाली कवि तथा कलाकार जीवन खत्रीलाई रातो कार्पेटको सम्मान प्रदान गरिएको छ। गत शनिबार २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो र आयोजकका अनुसार सुरुवाती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सवको अनुहार समेत भनिन्छ।
रातो कार्पेटको सम्मान खत्रीका अलवा डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्की लगायत डकुमेन्ट्री चलचित्र निर्माण टिमलाई रातो कार्पेटले सम्मान गरिएको हो।
जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो। २६औँ जोओन्जु अन्तराष्ट्रिय फिल्म फेस्टिभल आयोजकका अनुसार फेस्टिभलका लागि विश्वभरबाट २,४९७ चलचित्रहरू पेश गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू (१४८ फिचर चलचित्रहरू र ७६ छोटो चलचित्रहरू) प्रदर्शन गरिएका थिए।
ती मध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुवात र समापनको बिशेष शो प्रदान गर्दै रातो कार्पेटको सम्मान प्रदान गरिन्छ। अप्रिल ३० देखि मे ९ तारिखसम्म १० दिन चलेको फेस्टिभलमा सुरुवाती फिल्म राडु जुड द्वारा निर्देशित कन्टिनेन्टल २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र 'मेशिनहरूको देशमा'ले उत्कृष्ट हुँदै समापनको शो पाएको थियो।
२६ औं जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष वू बेओम-गी (जेओन्जुका नगरपालिकाका मेयर) सह-कार्यकारी समितिका अध्यक्ष मिन सेओङ-वुक, जेओङ जे-हो हुन्। अध्यक्ष वू बेओमले भने, -‘यस फिल्म महोत्सवले ८५% को टिकट बिक्री दरको साथ अहिलेसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्यो, र दर्शकहरूको कुल संख्या ७०,००० नाघ्यो।’
चलचित्रमा कोरियामा काम गर्दै कविता लेखिरहेका नेपाली कविहरूले कोरियालाई कसरी हेर्छन्? उनीहरूले भोग्ने गरेका कष्टहरू के के हुन्? आफ्ना कविताहरू मार्फत कोरियालाई कसरी प्रस्तुत गर्छन् र कोरियासँग के अपेक्षा गर्छन् भन्ने कुराहरूलाई गहिरोसँग प्रस्तुत गरिएको छ।
९ तारिख दिउँसो, जेओन्जु डिजिटल इन्डिपेन्डेन्ट फिल्म थिएटरमा ‘इन द ल्याण्ड अफ मेसिन’को प्रेस स्क्रिनिङ कार्यक्रम आयोजना गरिएको थियो। उक्त प्रेस स्क्रिनिङमा फिल्मका निर्माता तथा निर्देशक किम ओक-यङ, फिल्ममा देखिएका जीवन खत्री र अनुवादक ली गिजु सहभागी थिए।
मेशिनको देशमा नामक चलचित्रकी निर्माता तथा निर्देशक किम ओक यङले भनिन्, ‘सन् २०२२ मा आप्रवासी कामदारका रुपमा कोरियामा रहेका नेपाली कविहरूको कविता सङ्ग्रह 'यो मेशिनको सहर हो' पढेपछि म छक्क परें। आफू कवि पनि भएका कारणले हुन सक्छ मलाई नेपाली कविहरूले कोरिया र कोरियाली समाजलाई हेरिरहेको दृष्टिकोणले एकदम झक्झक्यायो। उनीहरूले आफ्नो कविता मार्फत आफूमाथि परेको पीडाको आवाज र त्यसका विरुद्ध आलोचना गरिरहेका छन्। जुन कुराले मेरो हृदयमा आघात पर्यो। अनि मैले यही विषयलाई लिएर डकुमेन्ट्री बनाउने निर्णय गरेँ। मलाई आशा छ कि दर्शकहरूले पनि मैले जस्तै आघात महसुस गर्नेछन्,’ उनले फिल्म किन बनाइन् भनेर बताउँदै भनिन।
सन् २०२० मा कोरियामा काम गर्दै कविता लेखिरहेका ३५ नेपाली कविहरूको ७० कविता सङ्ग्रहित संयुक्त कविता सङ्ग्रह 'यो मेशिनको सहर हो' प्रकाशित भएको थियो। लि गिजु र मोहन कार्कीले कोरियन भाषामा अनुवाद र कवि पराजित पोमुले सम्पादन गरेको यो कृतिले कोरियामा ठूलो चर्चा र प्रेम पायो।
यस कृतिले कोरियाको मजदुर पार्टीको कला संस्कृति समितिले वर्षको उत्कृष्ट कृतिको सम्मान सहित 'रेड अवार्ड' र आन्सङ लेखक सङ्घ नामक संस्थाबाट २५ लाख कोरियन वन सहितको पुरस्कार समेत प्राप्त गरेको थियो। उक्त कृति यो मेसिनको शहरमामा कोरिया छिरेर आफूले महशुस गरेका भावनाहरू कविहरूले व्यक्त गरेका छन्। कविता डकुमेन्ट्री चलचित्र भन्न सकिने यस चलचित्र 'मेशिनको देशमा' यही कृतिसँग आधारित छ।
निर्देशक किम ओक-यङले थपिन ‘फिल्ममा जसरी प्रत्येक व्यक्तिको विशेषता र व्यक्तित्व प्रकट हुन्छ, मेरो लागि पनि त्यस्तै थियो। यद्यपि तिनीहरूको राष्ट्रियता र परिस्थिति फरक छ, मैले छायांकन गर्दा सिकें कि प्रवासी कामदारहरू पनि हामी जस्तै व्यक्ति हुन् र तिनीहरूले जस्तो पीडा महसुस गर्छन्, र म त्यो भावना दर्शकहरूलाई बताउन चाहन्थेँ।’
समापनको बिशेष शो पाएको चलचित्र ‘मेशिनको देशमा’ काव्य डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरिएको छ। डकुमेन्ट्रीमा मुख्य भूमिकामा देखिएका तीन नेपाली कविहरू जीवन खत्री, सुनिलदिप्त राई, दिलिप बान्तवाका अलवा नेपाल फर्किसकेका कविहरू, रमेश सायन, ऐश्वर्य श्रेष्ठ, सरोज सर्वहारा, सञ्जय काउचाको पनि कविता सहितको भूमिका रहेको छ। २६ औं जेओन्जु अन्तर्राष्ट्रिय फिल्म महोत्सव ९ तारिख साँझ जेओन्बुक राष्ट्रिय विश्वविद्यालयको सामसुङ सांस्कृतिक केन्द्रमा आयोजना भएको रेड कार्पेट तथा समापन समारोहमा सुनिलदिप्त राई र दिलिप बान्तवाको भने उपस्थिति रहेन।
रेड कार्पेट पश्चात लगत्तै समापन समारोह भएको थियो। आयोजक र कोरियनहरूको खचाखच उपस्थितिमा डेड घण्टा लामो काव्य डकुमेन्ट्री 'मेशिनको देशमा' प्रदर्शन भयो। प्रदर्शनपश्चात चिसा आँखा पारेका दर्शकहरूले लामोसम्म तालीले उक्त चलचित्रलाई सम्मान व्यक्त गरे।
आफ्नो जिन्दगीको अपेक्षा भन्दा ठूलो रेड कार्पेटको सम्मान पाएको भन्दै कवि जीवन खत्रीले खुसी हुँदै भने - ‘यो सम्मान पुस्तककमा समावेश सबै कवि, कोरियामा रहेर कविताकर्म गरिरहनु भएका आम नेपाली कविहरूको पनि हो। यो सम्मान, नेपालकै सम्मान हो।’
समापन समारोह सकिएपछि आयोजकद्वारा आमन्त्रित पाहुनाहरूलाई रात्रीभोज दिइएको थियो।