भारत-पाकिस्तानको तनाव बढ्दै जाँदा अहिले पूरै विश्वको नजर यी दुई राष्ट्रका कदमहरुमाथि छ। एकपछि अर्को गर्दै दुबै देशले एकअर्काविरुद्ध प्रतिबन्धका घोषणाहरू गरिरहेका छन्।
दुबै देशबीच अहिले चलिरहेको ‘मिडिया वार’ले यो स्थितिलाई युद्धसम्मै डोर्याउने हो कि भन्ने त्रास एकातिर छ भने अब कसले कस्तो कदम चाल्छ भन्ने कौतुहलता पनि छ।
गत अप्रिल २२ का दिन जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानप्रति निकै आक्रामक भइरहेको भारतले उसका विरुद्ध कैयौं कठोर निर्णयहरू लिइरहेको छ। उक्त आक्रमणमा आतंककारीले १ जना नेपालीसहित २६ जना पर्यटकको हत्या गरेका थिए।
सबैभन्दा पेचिलो निर्णय सिन्धु जल सम्झौताको स्थगनको थियो। यसलाई पाकिस्तानले ‘युद्ध’को घोषणाकै रुपमा लिने बताइसकेको छ।
यसअघि भारतीय प्रधानमन्त्रीले आफ्नो सैन्य संगठनलाई पाकिस्तानमाथि आक्रमण गर्नेबारे सम्पूर्ण निर्णय लिने अधिकार दिएपछि युद्धको त्रास अझ बढेको छ। त्यही दिन पाकिस्तानले भारतले चाँडै नै पाकिस्तानमाथि भीषण आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचनाहरू पनि सार्वजनिक गरेको थियो।
हालका दिनमा भारत-पाकिस्तान सिमानामा दुबै देशका सैनिकहरूबीच गोलीवारी भइरहेको छ। तर भारतले भित्रभित्रै ठूलै आक्रमणको तयारी गरिरहेको भन्दै आफू पनि चुप लागेर नबस्ने चेतावनी पाकिस्तानले पनि दिएको छ।
यसबीचमा पाकिस्तानका एकजना कुटनीतिज्ञले भारतले कुनै आक्रमण गरेमा वा सिन्धु जल सम्झौतालाई खारेज गरेर पाकिस्तानका लागि पानी रोक्ने प्रयास गरेमा त्यसको निकै नमीठो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
रुसका लागि पाकिस्तानी राजदूत मोहम्मद खालिद जमालीले पाकिस्तानले अब भारतलाई परम्परागत हतियारबाटमात्रै होइन बरु परमाणु बम हान्नसक्ने धम्की पनि दिएका छन्।
रुसकै एउटा टेलिभिजन च्यानल आरटीसँग कुरा गर्दै उनले भारतले सिन्धुको पानी रोक्न खोज्यो वा कुनै आक्रमणको सुरुवात गर्यो भने त्यसको जवाफ पाकिस्तानले परमाणु हतियारबाट दिनसक्ने बताए।
भारत र पाकिस्तान दुबै परमाणु हतियार भएका राष्ट्रहरू हुन्। हातहतियार अनि सैन्य शक्तिका लागि उनीहरूको प्रतिष्पर्धा पुरानै हो। योबीचमा दुबै देशले कतिपय हातहतियार र क्षेप्यास्त्रसम्मको परीक्षण खुलेआम एकअर्कालाई देखाएरै ‘परीक्षण’ गरिरहेका छन्।
यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पाकिस्तानतिर बग्ने पानी रोक्ने वा त्यसको दिशा बदल्नका लागि कुनै संरचना खडा गरेमा उसलाई ‘नष्ट’ गरिदिने चेतावनी आसिफले दिइसकेका छन्।