ओलीको बोली बन्द,शिक्षकलाई कुरिरहेछन् शिक्षामन्त्री (भिडिओ–समाचार)

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरू भएकाे छ। 

अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नीति कार्यक्रम तथा बजेट नेतामुखी नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिकुलताको असर देखापरेको, मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन आवश्यक भएको, रोजगारी सृजना र नीजी क्षेत्रमाझ उत्साह ल्याउनुपर्ने चुनौती रहेकाले नीति तथा कार्यक्रम र बजेट त्यसतर्फ केन्द्रित हुनुपर्ने सांसदहरूको माग थियाे। 

000
नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।

शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नेक्रममा उनले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताएका हुन्। 

आफूलाई सत्ता समीकरण फेरबदल हुने कुरामा केही थाह नभएकाे भन्दै 
गठबन्धनमा टिक्ने उनकाे प्रष्टीकरण थियाे। 

000

शिक्षा मन्त्रालयमा वार्ताका लागि गएका शिक्षकहरू गेटबाटै फर्किएका छन्।

सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि सिंहदरबार पुगेका शिक्षकहरू प्रवेश पास नभएपछि गेटबाटै फर्किएका हुन्।
 
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक सिंहदरबार गएका थिए। 

000 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

मेटालाई नेपालमा दर्ता हुन पटकपटक सूचना जारी गरे पनि नमानेकाे भन्दै उनले अबको ७ दिनभित्र दर्ता हुन चेतावनी दिएका हुन्। 

नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो। 

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि संलग्न रहेको आरोप लगाएका छन्। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूसँग कांग्रेस सहमहामन्त्रीको छोरा संलग्न रहेको रेकर्ड रहेको दाबी गरेका हुन्।

यद्यपि, उनले कांग्रेसको को सहमहामन्त्री भन्ने चाहिँ खुलाएनन्। 

000

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने गगनको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन्। 

सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको उनकाे आरोप थियाे। 

000

चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौं उपत्यकाका अस्पतालमा आकस्मिकबाहेक सेवा प्रभावित भएको छ। 

न्यूनतम पारिश्रमकको माग गर्दै चिकित्सकहरूले आन्दोलन गर्दा आकस्मिकबाहेक सेवा बन्द भएकाे हाे।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले सरकारीसरह तलबभत्ताको माग गर्दै आन्दोलन गरिरहेका छन्। 

000

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ।

बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ।

भारतको जम्मू–कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको हाे।

गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: : 2025-04-25 20:16:00

प्रतिकृया दिनुहोस्