ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।
सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए।
गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए।
एसएसपी दाहालका अनुसार मृतक र घाइतेको परिचय खुलिसकेको छैन।